काठमाडाैँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुव्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरू गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिउको भन्दै सन्दर्भमा अनुसन्धान सुरू गरेको आयोगले जनाएको हो । सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ ।
सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा. टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए ।अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताए ।
“रवि लामिछानेलाई चितवनबाट काँस्की लैजाँदाखेरी राति लगियो, दुव्र्यवहार गरियो भन्ने सन्दर्भमा मिडियाहरुले पनि प्रशस्तै समाचार लेखे । त्यसको पनि ध्यानाकर्षण भयो । सँगै हाम्रो टोलीले गएर काँस्की प्रहरीसँग पनि सोधपुछ गरेका छौँ । साथै हामीले रवि लामिछानेसँग पनि जानकारी लिएका छौँ । उहाँले ममाथि मानव अधिकार उल्लंघन भयो, ममाथि दुव्र्यवहार भयो भन्नुभएको हुनाले उहाँको भनाइ के कति सत्य हो भन्ने सन्दर्भमा जो प्रहरीलाई भन्नुभएको छ, ममाथि दुव्र्यवहार गरियो भनेर ति प्रहरी अधिकारीलाई बेलाएर छलफल गरेको हो । आजको छलफलमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ आउनुभएको थियो । उहाँसँग जानकारी लिने काम गरेका छौँ,” उनले भने ।
लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्