नाडा र प्रादेशिक एसोसिएसनबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न, संरचनात्मक सुधारमा जोड


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाका प्रादेशिक एशोसिएशनबिच मंसिर २१ गते चितवनको जगतपुरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा आयोजित यस कार्यक्रममा अटोमोबाइल क्षेत्रका विभिन्न समसामयिक विषयमा विस्तृत छलफल गरिएकाे थियाे ।

कार्यक्रममा १४ वटा प्रमुख विषयमा क्रमबद्ध छलफल भएको थियो। तीमध्ये नाडाको संरचनालाई सुदृढ बनाउने, सदस्यतालाई डिजिटलाइज्ड गर्ने, विधान संशोधन, खुला सिमानाको समस्या, पुरानो स्टक व्यवस्थापन, भन्सार मूल्याङ्कनको चुनौती, सेकेन्ड ह्यान्ड पार्टस व्यवस्थापन तथा हालको आर्थिक मन्दीले अटोमोवाइल क्षेत्रमा पारेको प्रभाव जस्ता विषय समावेश थिए।

कार्यक्रमको अन्त्यमा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा देखा परेका समस्याहरू र ती समस्याको समाधानका उपायहरूबारे विशेष चर्चा गरेका थिए ।

कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्लसहित केन्द्रीय कार्यसमिति सदस्यहरू र नाडाका प्रादेशिक एशोसिएशनका प्रतिनिधिहरू उपस्थित थिए। चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलबहादुर क्षेत्रीसहित विभिन्न सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा हटौंडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषि ढकाल र अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।

नाडाले यस्ता कार्यक्रमहरूले नाडा र प्रादेशिक एशोसिएशनहरूबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।