पछिल्लो ४ महिनामा ७.५८ अर्बको धितोपत्र सूचिकृत


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७ अर्ब बढिको धितोपत्र सुचिकृत भएको छ । नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार चार महिनामा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचिकृत भएको हो ।

जसमध्ये.३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको बोनस शेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको राष्ट्रबैंकले जनाएको छ ।

नेप्सेमा कात्तिक मसान्तमा सूचीकृत ८ अर्ब ४६ करोड शेयरको चुक्ता मूल्य रु.८३४ अर्ब ७४ करोड रहेको छ ।

त्यस्तै चार महिनामा नेपाल धितोपत्र बोर्डले .५ अर्ब ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र .१ अर्ब ९० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेप्सेमा हालसम्म सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।