काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमाबाइल्स क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भनेपनि सरकारबाट यसको उचित मूल्यांकन हुन नसकेको बताएका छन् ।
नाडाको ४८ औं वार्षिक साधारणसभामा चौधरीले अटोमोबाइल्स क्षेत्रले सरकारको राजस्वदेखि रोजगारीसम्म अतुलनीय योगदान दिएपनि सरकारको अस्थिर नीतिहरूका कारण यो क्षेत्र समस्यामा परेको बताएका हुन् । उनले अटोमोबाइल्स क्षेत्रको विकासमा अहिले ठूलो चुनौती आएको र यस क्षेत्रको व्यापार निरन्तर घट्दै गरेको बताए ।
उनले बिमा क्षेत्रमा अटोको ५० प्रतिशत योगदानको साथ यस क्षेत्रले १ लाख प्रत्यक्ष र ठूलो संख्यामा अप्रत्यक्ष रोजगारी सृजना गरेको बताउँदै, युवाहरूको विदेश पलायनको असर अटोमोबाइल्स क्षेत्रमा समेत परेको बताए । चौधरीले उद्योगको विकासमा राज्यको नीति अवरोधक रहेको बताउँदै, विशेषगरी विद्युतीय सवारी साधनको लागि चार्जिंङ स्टेसनहरूको तीव्र निर्माण आवश्यक रहेको बताएका छन्।
“विद्युत प्राधिकरणले चार्जिङ स्टेसनहरूको संख्या बढाउन चाँडो कदम चाल्नु पर्छ, साथै सरकारसँग विद्युत सवारी साधनको आयात गर्दा यसको गुणस्तरमा जाँच गर्नु पर्छ । वर्तमान मौद्रिक नीति अटो क्षेत्रको लागि अनुकूल छैन,” चौधरीले भने, “हामीलाई विकासको दिशामा सरकारको स्पष्ट दृष्टिकोण र रणनीति आवश्यक छ। यदि सरकार यस्तो नीति लागू गर्न सक्दैन भने, यो क्षेत्र पछिल्ला समयहरूमा समस्यामा पर्नेछ र पलायन हुनेछ।”
अध्यक्ष चौधरीले सरकारलाई अटो क्षेत्रलाई प्रवध्दर्न गर्ने दीर्घकालीन रणनीति ल्याउन अनुरोध गरे । उनले सरकारले यस क्षेत्रमा सकारात्मक नीति ल्याए नाडामा कुनैपनि सदस्य नहुने अवस्था हुने उल्लेख गरे । उनले अटोमोबाइल्स क्षेत्रको समृद्धि र दीर्घकालिक विकासको लागि नाडाले निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्