अटोमोबाइल क्षेत्रको विकासका लागि नीतिगत सुधारको आवश्यकता छ: चेम्बर अध्यक्ष अग्रवाल


काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रको विकासका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारणसभामा बोल्दै उनले नेपालमा अटोमोबाइल क्षेत्र तीव्र गतिमा बढेको र राज्यको नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्र हाल शिथिल अवस्थामा रहेको र यो अवस्था सरकारको नीतिगत अस्थिरताका कारण उत्पन्न भएको बताए। अग्रवालले करको दर बढाउने भन्दा पनि करको दायरा बढाउनुपर्ने सुझाव दिएका छन्। उनले स्पेयर पार्ट्सको करको दर बढी राखिएकोले नक्कली पैठारी बढ्न पुगेको र त्यसैले कर दर घटाउनुपर्नेमा उनकाे जोड थियाे।

अग्रवालले विद्युतीय सवारी साधनको माग बढिरहेको हुँदा यस क्षेत्रमा नीतिगत स्थिरता ल्याउनुपर्ने आवश्यकता रहेको पनि बताए। उनले भने, “हामीलाई अब दिगो वृद्धिका लागि नीति र संरचनामा स्थिरता ल्याउनुपर्नेछ, विशेषगरी विद्युतीय सवारी साधनको क्षेत्रमा, जसको माग वृद्धि भइरहेको छ।” यसैगरी, अटोमोबाइल क्षेत्रका नीति सुधारका लागि राज्यको ध्यानाकर्षण गराउँदै, यस क्षेत्रमा दीर्घकालीन स्थिरता र प्रगति सुनिश्चित गर्न आग्रह गरे।