नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी रुपले मसँग जोडिएको छैनः ऊर्जामन्त्री खड्का


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको बताएका छन् ।

नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट बिचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको थियो । तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले बताए।

उनले पछिल्लो समय नियोजित रुपमा आफू संग्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरू आएको बताए । उनले स्काउटसँग जोडर आएका समाचार नियोजित भएको बताए । उनले आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरूले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरू आएको बताए ।

उनले  स्काउट ऋणमा पुगेपछि टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको बताए । उनले आफू कम्पनीमा हुँदा समेत भाँडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गरे ।

उनले स्काउटले विद्युत लाइन काट्ने,गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताए । उनले  कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको बताए ।