काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चीनसँग सहकार्य गरेर मासु निर्यातलाई थप प्रोत्साहन दिने बताएका छन् । प्रधानमन्त्री ओलीको चीनको भ्रमणका क्रममा नेपालबाट प्रशोधित राँगाभैंसीको मासु निर्यात सम्बन्धी सम्झौता भएको र सोही सम्झौता बमोजिमको बृहत् परियोजना कार्यान्वयन घोषणा कार्यक्रममा बोल्दै उनले सो गुणस्तरलाई कायम राख्न भैंसी पालनमा नयाँ प्रविधिको प्रयोग र प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।
मन्त्री अधिकारीले भने, “नेपालका गाउँहरूमा सुदृढ सडक संरचना र बाटोघाटोको विकासले गर्दा, अब उत्पादन भएका मासुहरू बजारमा सजिलै ल्याउन सकिन्छ र यसले निर्यातको अवसरलाई अझ बढावा दिनेछ।”
उनले नेपाल मासु र दूधमा आत्मनिर्भर भएको र अहिले दुग्धजन्य पदार्थ र दूध निर्यात गरिरहेको जिकिर गरे। यसबाट रोजगारका अवसर पनि सृजना भएको र ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि ल्याउने अवसर सिर्जना भएको बताए।
नेपाल सरकारले पशुपालन र दूध उत्पादनमा उच्च गुणस्तर कायम गर्न निरन्तर काम भइरहेको मन्त्री अधिकारीले जोड दिए। उनले चीनमा मासुको विभिन्न परिकारलाई स्थानीय जनताले रुचाउने भएकाले तीव्र रूपमा मासु निर्यात गर्ने योजना बनाइरहेको उल्लेख गरे। “चीनसँग सहकार्य गरेर भविष्यमा मासु निर्यातलाई थप प्रोत्साहन दिनेछौं,” उनले भने।
कृषि मन्त्री अधिकारीले आगामी दिनहरूमा पशुपालनको क्षेत्रमा अझ नयाँ विकासका पहल गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। नेपालका हिमाली र पहाडी क्षेत्रका जडिबुटी खाएर हुर्किएका भैंसीको मासु उच्च गुणस्तरीय हुने उनले बताए
प्रतिक्रिया दिनुहोस्