काठमाडाैँ । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ । सोमवार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो ।
परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए । रात्रिकालनि उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे । उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए ।
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने उनकाे भनाइ छ । कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने उनले बताए । उनले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको उल्लेख गरे ।
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताए । उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको उल्लेख गरे । रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राजविराजमा रात्रिकालीन उडान शुरु हुनु सप्तरीवासीको लागि गौरवको क्षण भएको बताए । रात्रिकालनि उडानलाई सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने उनकाे भनाइ छ ।
अध्यक्ष राउतले राजविराज विमानस्थलबाट थप उडान गर्नका लागि सप्तरीवासीले अझ बढी पहल गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्