काठमाडौँ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले दक्षिण एशियाकै उत्कृष्ट बैंक नेपालमा रहेका बताएका छन्। नेपाल बैंकर्स संघको साधारण सभामा बोल्दै उनले छोटो समयमै नेपाली बैंकिङ क्षेत्रले दक्षिण एशियामा आफ्नो विशिष्ट पहिचान बनाएको बताएका हुन् ।
उनका अनुसार चार दशकमा बैंकिङ क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि हाल कर्जाको मागमा आएको कमी र तरलता (लिक्विडिटी) को अत्यधिकता बैंक तथा वित्तीय संस्थाहरूका लागि चुनौती बनेको छ। उनले यस अवस्थाले बैंकिङ प्रणालीलाई जोखिमपूर्ण बनाउने संकेत गर्दै खराब कर्जाको स्तरलाई थप सुधार गर्न ढिलो गर्न नहुने सुझाव दिए।
सीईओ केसीले ‘रिटर्न अन इक्विटी’ हाल करिब ९ प्रतिशत हाराहारीमा झरेको उल्लेख गर्दै यसले लगानीकर्ताहरूको आत्मविश्वासमा असर पारेको बताए। चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्न बैंकिङ क्षेत्रले नवप्रवर्तनशील उपायहरू अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
नेपाल बैंकर्स संघको अध्यक्षको रूपमा आफ्नो दुईवर्षे कार्यकाल सम्पन्न भएको जानकारी दिँदै उनले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अब संघको नेतृत्व सम्हाल्ने बताएका छन्। कोइरालाको नेतृत्वमा संघले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्