काठमाडाैँ । पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरूलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठूलो चुनौति देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ ।
बैंकहरूले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरूको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरूको एनपीए पछिल्लो समय अधिकांश बैंकहरूको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरूमा एनपीए वृद्धि हुँदै जानु बैंकहरूको लागि ठूलो चुनौति हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने,ऋण असुलीमा समस्या हुनसक्छ ।
अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंकहरुले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्युन हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । बैंकहरुको निक्षेप बढ्दा कर्जाको माग न्युन छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
बैंकहरूको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पतीमा परेको बैंकर्सहरूको भनाई छ । अर्थतन्त्रमा छाएको संकुचनको असर बैंकहरूको रिकभरीमा पर्नसक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । आर्थिक २०७९\८० को पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा १. ६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।
७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग
कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औषत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रूपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन् ।
चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरूलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौति देखिएको छ । बैंकहरुमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरूमा समस्या आउनसक्ने बैंकर्सहरुले बताएका छन् । उनीहरुले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरुमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरूलाई अफ्ठ्यारो पर्ने बताएका छन् ।
सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्था गरेको उनीहरुको भनाई छ । पछिल्लो बैंकहरु चुनौतिपूर्ण अवस्थामा कठिन रुपमा बाँचिरहेको बैंकरहरूले बताए । बैंकहरूमा देखिएको चुनौति समाधानको लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको उल्लेख गरे । बैंकर्सहरूले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरू समस्यामा परेको बैंकर्सहरूको भनाइ थियो ।
नेपाल बैंकर्स संघका निःर्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताए ।उनले बैंकहरूमा तरलतामा देखिएको असमानताले पनि बैकहरूमा समस्या पारेको दाबी गरे ।
उनले बैंकहरूमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरूमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताए ।उनले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको सिथिलता,वाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखापरेको बताए । उनले यस्ता समस्याको कारणले बैंकहरुको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको बताए ।
उनले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैंकहरूको ४ प्रतिशत माथि खराब कर्जा पुगेको बताए । उनले दक्षिण एशियाका मुलुकहरू हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा बताए । उनले बेला–बेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत वाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरू अफ्ठ्यारो अवस्थामा पुगेको बताए ।
संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोईरालाले पनि नेपालका बैंकहरू चुनौतिपूर्ण अवस्थामा रहेको बताए ।उनले बैंकहरूमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरु रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताए । उनले तथ्यांकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भएपनि आधारभुत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गरे । अध्यक्ष कोईरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गरे ।
पूर्वबैंकर राजनसिंह भण्डारीले बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाए । उनले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत,अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्र्न भन्ने गरेको बताए ।उनले बैंकहरूले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्णपालना गरी उच्चदरमा लाभांश बाड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
बैंकर्सहरूले बैंकलाई सबल र सक्षम बनाउनको लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरूले बैंकहरू पछिल्लो समय देखिएका समस्या समाधानको लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातारण बनाउनुपर्नेमा जोड दिए । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्