५० लघुवित्तमध्ये १६ओटाको लाभांश घोषणा, १३ ओटाको शून्य


काठमाडौं । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई धमाधम लाभांश घोषणा गरेका छन् ।

५० लघुवित्त कम्पनी मध्ये १६ओटा लघुवित्तले लाभांश घोषणा गरेका छन् भने १३ ओटा कम्पनीले लाभांश नदिने घोषणा गरेका छन्। अन्य २१ ओटा लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा गर्ने लघुवित्त मध्ये ७ लघुवित्तले सबैभन्दा धेरै १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्ने लघुवित्तमा आशा, छिमेकी, गुराँस, मिथिला, नेष्डो, नेशनल, स्वाभालम्बन लघुवित्त तथा वित्तीय संस्था रहेका छन् ।

यी सातओटा लघुवित्त मध्ये ६ ओटा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश दिने घोषणा गरेका छन् भने छिमेकी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

त्यस्तै जीवनविकास लघुवित्तले १४.७४, सर्पोट लघुवित्तले १४.५ प्रतिशत साथै फरर्वाड र सानाकिसान लघुवित्तले क्रमश, १४,१४ प्रतिशत लाभांश घोषणा गरेका छन् । कालिका, डिप्रोक्स र आरडीसी लघुवित्तले क्रमश १०.७५,१०.५ र १० प्रतिशत लाभांश घोषणा गरेका छन् ।


यी हुन लाभांश नदिने कम्पनी

गत आर्थिक वर्षको मुनाफा १३ ओटा कम्पनीले नबाड्ने भएका छन् । ५० ओटा कम्पनी मध्ये हालसम्म १३ ओटा कम्पनीले लाभांश नबाड्ने निर्णय गरेका हुन् ।

लाभांश नबाँड्ने कम्पनीमा आरम्भ चौतारी, धौलागिरी, ग्लोबल आइएमआई,गणपति, हिमालय,इन्फिनिटी, लक्ष्मी, निर्धान उत्थान, युनिक्यू नेपाल,उन्नति सहकार्य, बिजय र विन नेपाल लघुवित्त रहेका छन् ।