कोदो सम्बन्धी समाचार लेख्ने ६ जना कृषि पत्रकार सम्मानित


काठमाडौँ । कोदोजन्य बाली पवर्धनमा कलम चलाउने ६ कृषि पत्रकारलाई सम्मान गरिएको छ । शुक्रवार सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयको सभाहलमा मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र, नगद र दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र राष्ट्रिय कृषक समूह महासंघद्वारा आयोजित सो कार्यक्रमकाबिच विभिन्न तीन विधामा कृषि कोदो लेख पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिएको छ । चौथो राष्ट्रिय कोदो दिवसको सन्दर्भमा समाचार लेखन प्रवर्धनका लागि लेखनवृत्तिमा सहभागीमध्ये ६ जनालाई पुरस्कृत गरिएको हो ।

हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेललाई १५ हजार रकमसहित कोदो समाचार लेखन सर्वोकृष्ट पुरस्कार तथा सम्मान गरिएको छ । अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा र उज्यालो रेडियो नेटवर्क कार्यक्रम उत्पादक मदन पौड्याललाई जनही १०\१० हजारसहित कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युजडटकमा संवादता रबि थापा र रातोपाटीडटकमकी संवाददाता सरिता थारुलाई जनही ५ हजारसहित कोदो समाचार लेखन प्रोत्साहन पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

कोदो दिवसको दिन किसानहरूलाई सम्मान गरिएकोमा फेलोसिपसमेत पाएका पत्रकारहरुलाई शुक्रवार पुरस्कृत गरिएको हो । “हामीले कोदो दिवस मनाउन लागि जनस्तरबाट निरन्तर कार्यक्रम गरिरहेको सन्दर्भमा यो वर्ष सरकारले दिवस घोषणा गर्ने तयारी गरिरहेको सुनिएको छ, हामी हाम्रो तर्फबाट निरन्तर रुपमा कृषि प्रवर्धनका लागि काम गरिरहनेर्छौँ,” अनाजका अध्यक्ष किरण आचार्यले भने ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कोदो दिवस मनाइएको विषयलाई उच्च प्रशंसा गर्दै कृषि पत्रकार सम्मानको कार्यक्रम महत्वपूर्ण रहको बताए । पोषणयुक्त कोदोवाली प्रवर्धन गर्न सरकारले दिवस घोषणा गर्ने तयारी गरिरहेको भनाइ मन्त्री अधिकारीको छ ।

हाल किसान र अनाजले संयुक्त रुपमा सरकारलाई कोदोजन्य बाली वर्ष घोषणा गर्न अनुरोध गर्दै वर्षेनी चार वर्षेदेखि कोदो दिवसको कार्यक्रम गरिँदै आइएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त तत्वधानमा बहुगुणी कोदोजन्य बालीको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि कोदो बहस तथा कोदो दिवस सम्पन्न मनाइदै आइएको छ ।

महासंघ रैथाने उत्पादनलाई प्रवर्धन गर्दै साना किसानको अधिकारका काम गर्ने राष्ट्रिय नेटकर्व हो भने अनाज कृषि सञ्चारलाई प्रवर्धन गर्ने संचारकर्मीको साझा संस्था हो । अनाजले पत्रकारलाई लेखनका लागि प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गर्दै सम्मानित ममता थापाले यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।