काठमाडौँ । काठमाडौँको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फूड ल्याब भ्यानको प्रयोग गर्दै कालीमाटी तरकारी फलफूल बजारमा जीवनाशक विषादी अवशेष परीक्षण गरेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि विभागले र्यापिड रेस्पोन्स टिम परिचालन गरेर पुष ४ गते राति १० बजेबाट ५ गते बिहान ३ बजेसम्म उक्त परीक्षण सञ्चालन गरेको हो।
यस क्रममा कालीमाटी बजारमा भित्रिने विभिन्न २१ प्रकारका तरकारी तथा फलफूलबाट १६२ वटा नमूना संकलन गरिएकाे थियाे । आरबिपिआर विधिबाट परीक्षण गर्दा न्यूनतम २ प्रतिशतदेखि अधिकतम २७ प्रतिशतसम्म इन्जाइम इन्हिभिशन पाइएकाे थियाे । विभागले आरबिपिआर मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इन्हिभिशन भएको खाद्य पदार्थलाई खान योग्य मानिने भएकाले सबै नमूनालाई सुरक्षित र उपभोगयोग्य ठहर गरेको छ।
रातभर गरिएको अनुगमनमा ४७ वटा गाडीका तरकारी र फलफूल परीक्षण गरिएको थियो। तीमध्ये नेपालका १४ जिल्लाबाट ढुवानी भएका गाडी थिए भने ४ वटा गाडी भारतबाट आएका थिए। परीक्षण गरिएको नमूनामध्ये २० वटा नमूनालाई जिसिएमएस विधिबाट थप परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा पठाइएको छ।
मोबाइल फूड ल्याब भ्यानमा जडित उपकरणहरूले स्थलगत रूपमा परीक्षण गर्न सहज बनाएको र बजारमा खाद्य सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेको विभागले जनाएको छ। विभागले यस कदमले खाद्य व्यवसायीलाई सचेत गराउनुका साथै उपभोक्ताको स्वास्थ्य रक्षामा महत्त्वपूर्ण योगदान दिएको स्पष्ट पारेको छ।
प्रवक्ता मोहन कृष्ण महर्जनले यो अभियानले बजार अनुगमनलाई थप प्रभावकारी बनाएको र आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने बताए।
प्रतिक्रिया दिनुहोस्