अपाङ्गता भएका ३१ युवाले पाए निःशुल्क होटल व्यवस्थापन सीप


काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र दक्षता प्रदान गरि रोजगार बजारमा दक्ष जनशक्ति उपलब्ध गराउने मूल उद्देश्य राखेर गेट कलेजको भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटले पोखरामा होटल व्यवस्थापनसम्बन्धि आवधिक प्रशिक्षणहरू सम्पन्न गरेको छ ।
होटल व्यवस्थापनका बारिस्ता, हाउस किपिङ, बेकरी लगायतका विभिन्न आयाममा दिइएको प्रशिक्षणमा देशैभरिका ३१ जना बहिरा युवायुवतीको सहभागिता थियो ।
“यो हाम्रा लागि नयाँ र चुनौतीपूर्ण अनुभव थियो । सुरुमा न हामीसँग दोभाषे थिए न हामी नै सांकेतिक भाषाबारे जानकार थियौैं,” गेट पोलिटेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले भने ।
उनका अनुसार सन् २०२४ को सुरुमा युनिसेफको सहयोगमा ६ जना बहिरा युवायुवतीलाई होटल व्यवस्थापनका तालिम दिइसकेपछि क्रमैसँगै प्रशिक्षण लिन चाहनेहरूको संख्या बढेपछि वर्षको अन्त्यसम्म ३१ जनालाई निःशुल्क प्रशिक्षण दिइएको हो ।
सुरुबाटै विभिन्न संघ–संस्था र निकायले यो पवित्र उद्देश्यका लागि हातेमालो गर्न थालेकोमा बीबीसी माष्टर सेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनरको आयोजना गरि आर्थिक सहयोग जुटाएका थिए ।
“आफ्नो लागि हामी सबैले गर्छौं, समाजका लागि पनि केही गर्न सक्नुपर्छ तब हाम्रो प्रयास सार्थक हुन्छन्,” माष्टर सेफ शाह भन्छन्– “अपाङ्गता भएका व्यक्तिले पनि सही मागदर्शन पाए भने समाजमा हामीले भन्दा धेरै गर्न सक्छन् । यो थालनीमात्र हो, यो प्रयासलाई अझ निरन्तरता दिनुपर्छ ।”
बहिरा युवाका तर्फबाट गंगा थापा आफूले काठमाडौंको गेट कलेजमा होटल व्यवस्थापनको शिक्षासँगै पोखरामा गइ गेट पोलिटेक्निक इन्स्टिच्युटमा बारिस्ता, हाउस किपिङ, बेकरी लगायतका प्रशिक्षण लिइसकेपछि अहिले काठमाडौंको हिल्टन होटलमा रोजगारीको अवसर पाएको बताइन् ।
यस्तै अनुभव सुनाउँदै अनिलकुमार हमालले गेट पोलिटेक्निक इन्स्टिच्युटमा ४५ दिनका होटल व्यवस्थापनसम्बन्धी प्रशिक्षणपछि सोही होटलमा रोजगारी पाएको भन्दै अझै भाषाका कारण सञ्चार आदानप्रदानमा केही कठिनाइ रहेको बताए ।
“मुख्य समस्या भाषा सञ्चारकै रहेछ,” विभिन्न चरणमा बहिरा युवाहरूलाई प्रशिक्षण प्रदान गरेका महाप्रबन्धक पौडलले भने– “म आफैले पनि यस क्रममा सांकेतिक भाषा सिक्ने अवसर पाएँ । यसबाट केही सहज भयो ।”
गेट कलेज समूहका संस्थापक एवं प्रमुख कार्यकारी खेम लकाइँ नेपालमा १८ वर्षअघि आतिथ्य शिक्षामा अन्तर्राष्ट्रिय मानकअनुसारको शैक्षिक प्रतिष्ठान स्थापना गरेयता समाजले विशेष ध्यान दिनुपर्ने वर्गका रूपमा चिनिएका अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि काम गर्ने लक्ष्यअनुसार यस्ता सीप विकास अभियान अघि बढाइएको बताउँछन् ।
“गर्नुपर्ने धेरै ठाउँ र धेरै कुरा बाँकी छन् । यसलाई थालनीका रूपमा लिएर हामी आगामी दिनमा हाम्रा सबै शिक्षण तथा प्रशिक्षण कार्यक्रमलाई बढी समावेशी बनाउने छौं,” उनले भने ।
राष्ट्रिय बहिरा महासंघका अध्यक्ष अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन भन्ने गलत सोचाइ हाबी रहेको भन्दै आवश्यक सीप र सहजीकरण भएका अपाङ्गता भएका व्यक्तिले पनि धेरै कुरा गर्नसक्ने बताए ।
“गेट कलेजको यो प्रयासले बहिरा व्यक्तिहरूलाई मात्र नभएर अपाङ्गता भएका व्यक्तिहरूलाई पनि रोजगारीको बाटो देखाएको छ, यसलाई देशभित्र मात्र नभइ विश्वस्तरमा पनि लगेर सन्देश दिन जरुरी छ,” उनले भने ।
कार्र्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. काशीराज पाण्डे, अपाङ्गता अधिकारकर्मी गजेन्द्र बुढाथोकी लगायतले यस्ता सीपमूलक तालिम कार्यक्रमलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।