मुगुमा याक र चौँरीमा अज्ञात रोगको प्रकोप, ३० को मृत्यु


काठमाडौँ । मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर २ मा याक र चौँरीमा फैलिएको अज्ञात रोगका कारण ३० वटा जनावरको मृत्यु भएको छ। करिब ५०० याक र चौँरी रहेको यो क्षेत्रमा रोगका कारण स्थानीय किसान चिन्तित बनेका छन्।

रोगी जनावरहरूमा श्वासप्रश्वासमा समस्या देखिने, नाकबाट श्लेष्माजन्य स्राव निस्कने, रगत मिसिएको दिसा हुनेजस्ता लक्षण देखिएका छन्। रोग देखिएको १२ घण्टाभित्रै जनावरहरूको मृत्यु भइरहेको छ। रोगको तीव्र फैलावटले थप क्षति हुने सम्भावना बढेकाे मुगुम कार्मारोङ्ग गाउँपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र जोशीले बताए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगुका प्रमुख भीमचन्द्र बुढाको नेतृत्वमा एक टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको छ। तर, लगातारको हिमपातले टोलीको यात्रा अवरुद्ध भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। गमगढीबाट दुई दिनअघि प्रस्थान गरेको यो टोली सम्भवतः आज बेलुकासम्म घटनास्थलमा पुग्ने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

रोगको कारण पत्ता लगाउन र नियन्त्रणका उपायहरू अवलम्बन गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगु र सुर्खेतस्थित भेटरीनरी प्रयोगशालाबिच समन्वय भइरहेको मुगुम कार्मारोङ्ग गाउँपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख जोशीले जानकारी दिए । उनले भने,”रोग पहिचानका लागि नमुना परीक्षण गरिनुका साथै सम्भावित रोकथामका उपायहरूमा ध्यान केन्द्रित गरिएको छ।”

उनका अनुसार यस्तो खालको प्रकोप यस क्षेत्रमा पहिलोपटक देखिएको हो। रोगको पहिचान नभएसम्म नियन्त्रणमा समस्या भइरहेकाले जनावर पालकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

मुगुका दुर्गम हिमाली क्षेत्रमा याक र चौँरी किसानहरूको प्रमुख जीविकोपार्जनको साधन हुन्। रोगको फैलावटले यो क्षेत्रमा ठुलो आर्थिक क्षति पुर्याउने खतरा छ। यस्ता प्रकोपलाई रोक्न स्थानीय र प्रादेशिक निकायहरूले थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।