काठमाडौँ । कजाकिस्तानको अक्ताउमा आज बिहान एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। रोयटर्सका अनुसार, विमानमा ६२ यात्रु र ५ चालक दलका सदस्य सवार थिए। उद्धार गरिएका २८ जनामध्ये २२ जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमा दुई बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा ३९ जनाको मृत्यु भएको आशंका गरिएको छ। अजरबैजानबाट रुसको चेचन्या प्रान्तको राजधानी ग्रोज्नीका लागि उडेको यो विमान बाक्लो हुस्सुका कारण उडान मार्ग परिवर्तन गर्न बाध्य भएको कजाकिस्तानका अधिकारीहरूले जनाएका छन्।
पाइलटले आकस्मिक अवतरणको अनुमति मागेपछि विमानले धेरै पटक विमानस्थलको चक्कर लगाएको थियो। अन्ततः, विमानस्थल नजिकैको समुद्री किनारमा आकस्मिक अवतरण गराउने प्रयासमा दुर्घटना भएको थियो।
दुर्घटनाग्रस्त विमान अजरबैजान एयरलाइन्सको एम्ब्रेर १९० मोडलको रहेको र दुर्घटनापछि आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कजाख मिडियाका अनुसार, विमानमा राखिएको अक्सिजन सिलिण्डर दुर्घटनाअघि नै विस्फोट भएको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्