काठमाडाैँ । गण्डकी प्रदश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई पोखरा विमानस्थलबाट नियमित उडान गर्न आह्वान गरेका छन् ।
बिहीवार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पोखरा विमानस्थल उडानका लागि प्राविधिक रुपमा योग्य रहेको उल्लेख गर्दै यस्तो आह्वान गरेका हुन् । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु—पोखरामा आज चार्टर उडान गरेको थियो ।
बिहावार बिहान वायुसेवाले छेन्दुबाट १२९ जना यात्रु लिएर पोखरामा अवतरण गरेको हो । साथै विमान बिहान साढे ११ बजे काठमाडौं हुँदै छेन्दु फर्किएको छ । वायुसेवाले छेन्दु-पोखरा-काठमाडौँ नियमित उडान गर्ने बताइएको छ । उनले विमानस्थल प्राविधिक रुपमा ठिक र हवाई उडानका लागि योग्य प्रमाणित भइसकेको बताए ।
चीनको सिचुआन एयरलाइन्सको विमानले सफल अवतरण गरेसँगै विमानस्थल हरेक हिसावले उडानका लागि योग्य प्रमाणित भएको उनले बताए । कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भएको बताए । उनले अब पोखरा विमानस्थलबाट उडान शुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताए ।
उनले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीमजोरीहरु भएको स्वीकार गरे । उनले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरु स्वतः खारेज भएको बताए। कार्यक्रम आयोजक नाट्टाले अन्नपूर्ण, धौलागिरी लगायत विश्व विख्यात पदयात्रा मार्गहरुको प्रवेशद्वार पोखरा नै भएको उल्लेख गर्दै नियमित उडान सञ्चालन गर्नसके पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्