सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित


काठमाडाैँ । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको हाे ।

समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ,अर्थ मन्त्रालय र कानून मन्त्रालय,संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको बताए ।

उनले सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको जानकारी दिए ।

ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने उनकाे विश्वास छ । अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेश गर्ने तयारी गरिने उनले बताए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको जानकारी दिए ।

समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ ।

विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।