काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधन हिजो राति, एम्स अस्पतालमा उपचारकै क्रममा भएको हो। चिकित्सकहरूले राति ९:५१ बजे उनलाई मृत घोषणा गरेका थिए।
पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति शोक प्रकट गर्दै भारतभर सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ भने सरकारका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेका छन् ।
डा सिंह भारतका सर्वाधिक सादगीपूर्ण नेता मानिन्थे। उनी कारप्रेमी थिए, जुन कुरा सन् १९९६ मा मारुती ८०० किनेर प्रमाणित भएको थियो। उनले कार खरिद गर्नका लागि आफ्नी पत्नी गुरशरण कौरबाट २० हजार भारु सहयोग लिएका थिए। यसबारे सन् २०१३ मा आसाम राज्यसभामा उम्मेदवारी दर्ता गर्ने क्रममा उनले दिएको शपथपत्रमा उल्लेख गरिएको थियो। उक्त कार सन् १९९७ मोडलको थियो र उनले करिब २१ हजार भारुमा किनेका थिए।
सिंहसँग प्रधानमन्त्री कार्यालयमा विलासी सुविधायुक्त गाडीहरूको राम्रो कलेक्शन थियो। ती गाडीहरूमध्ये अत्याधुनिक कालो बीएमडब्ल्यू विशेष आकर्षणको केन्द्र थियो। तर, सिंह भने सधैं आफ्नो पुरानो ‘मारुती ८००’ मा चढेर हिड्ने गरेकाे सिंहका सुरक्षा गार्ड असिम अरुणले एक्समा उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री सिंहको निधनले भारतमा मात्र होइन, विश्वभरि नै शोक छाएको छ। विभिन्न देशका नेताहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। भारत सरकारका अनुसार, डा.मनमोहन सिंहको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानका साथ गरिनेछ।
प्रतिक्रिया दिनुहोस्