गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छः कृषिमन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल बीउ व्यवसायी संघको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेकाे बताएका हुन् ।

मन्त्री अधिकारीले आम नागरिकको घर खेत सम्म बीउ पुग्ने र यस्मा समस्या देखिँदा खाध संकट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरु थप बढि संबेदनसिल हुन जरुरी रहेको पनि बताए । उन्नत जातका बीउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन, किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ, उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले बीउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ती प्रदान गर्न राज्य निर्मम हुने समेत उल्लेख गरे ।

मन्त्री अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरु निजी क्षेत्र मैत्री रहेको पनि बताए ।