सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन


काठमाडौँ । जापानको प्रमुख अटो निर्माता कम्पनी सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा २५ डिसेम्बरमा लिंफोमाको कारण निधन भएको छ। उनले सुजुकी मोटरको नेतृत्व गर्दै कम्पनीलाई एक नयाँ युगमा प्रवेश गराउन महत्वपूर्ण योगदान पुर्याएका थिए।

ओसामु सुजुकीको मितव्ययी नेतृत्वको शैली प्रख्यात थियो। उनले सस्तोमा उत्पादन गर्न र कम्पनीको व्यय घटाउन विभिन्न रणनीतिहरू समेत अपनाएका थिए। सुजुकी, जसको वास्तविक नाम ओसामु मात्सुदा थियो, उनले आफ्नो पत्नीको परिवारको थर अपनाएर सुजुकी नाम लिएका थिए। उनी सन् १९५८ मा सुजुकी कम्पनीसँग जोडिए र २० वर्षमा अध्यक्षको पदमा पुगेका थिए ।

७० को दशकको अन्त्यतिर, कम्पनीलाई आर्थिक संकटबाट उकास्न उनले टोयोटासँग सहकार्य गर्दै नयाँ उत्सर्जन नियमहरू पूरा गर्नका लागि इन्जिन आपूर्ति गराएका थिए । यसपछि सन् १९७९ मा उनले अल्टो मिनी भेहिकलको लन्च गरे, जसले कम्पनीको कारोबारलाई ठूलो सफलता दिलायो र सन् १९८१ मा जनरल मोटर्ससँग साझेदारीको अवसर प्राप्त गराएकाे थिए ।

सुजुकीको जीवनको सबैभन्दा साहसिक कदम भनेको भारतमा एक राष्ट्रिय कार निर्माता कम्पनीको स्थापना थियो। त्यतिबेला भारतको अटो उद्योग निकै कमजोर थियो, र कार बिक्री ४०,००० भन्दा कम थियो। सुजुकीले यस कठिन समयमा भारतमा मारुति कम्पनीसँग साझेदारी गरेर सन् १९८३ मा मारुति ८०० कारको लन्च गरेका थिए । यो कार तत्काल सफल भयो र आज मारुति सुजुकी भारतीय अटो बजारको प्रमुख निर्माता बनेको छ, जसको बजार हिस्सेदारी लगभग ४० प्रतिशत छ।

ओसामु सुजुकीको नेतृत्वले केवल सुजुकी मोटरलाई मात्रै होइन, भारतको अटो उद्योगलाई पनि नयाँ दिशामा पुर्याएको छ।उनका योगदानलाई सम्झदै विश्वभरिका अटो उद्योगका व्यक्तिहरूले उनलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।