तपाईको दुई वर्षको कार्यकाल कस्तो रह्यो ?
समग्रमा हेर्दा यो दुईको अवधि राम्रो रह्यो । सूचना प्रविधिमा जति सोचेको थियो त्यति नभएपनि चित्त बुझ्दो अवस्था भएको छ । अर्थतन्त्रमा समस्या आएको देखिरहेको छ । यो कुराले जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर मान्छेलाई जति गरेपनि पुग्दैन । तर पनि म खुृशी छु । अहिले ठिक छ ।
महासंघले सरकारसँग नजिक रहेर काम गर्ने अवसर पनि पाउँछ । तपाईको २ वर्षे कार्यकालमा नीति निर्माण गर्न कस्तो भुमिका रह्यो ?
सूचना प्रविधिमा अहिले नीति आएको छैन । हामीले धेरै कुराहरु दियौं तर आएको छैन । तर बजेटमा सूचना प्रविधिको बारेमा धेरै कुरा लिएर गएको थियौं त्यसमा केही कुराहरु आएको छ । हामीले सरकारलाई साथ सहयोग गर्दै आइरहेको छौं । साइबर सुरक्षाकाे विषय पनि भयो । सरकारलाई चाहिने हामीले निजी क्षेत्रबाट क्यान महासंघले त्यो कुरा दिँदै आइरहेको छ । सरकारले पनि त्यसलाई स्वीकारी रहेको छ । त्यो कुराहरुलाई सरकारले सकेसम्म लिएर गइरहेको छ ।
सूचना प्रविधि क्षेत्रमा कतिले रोजगारी पाइरहेका छन् भन्ने तथ्यांक छैन । तपाई कार्यकालमा त्यस्तो तथ्यांक खोज्ने पहल भयो कि भएन ?
सन् २०२३ तिरकाे एक प्रारम्भिक तथ्यांकले एक लाखभन्दा बढीकाे राेजगारीकाे अवस्था देखाएकाे थियाे । यसमा विस्तृत अध्ययन अझै आवश्यक छ । अहिले निर्यात गर्ने कुरा आइरहेको छ त्यो त्यत्तिकै हुँदैन । त्यसको लागि विज्ञहरु नै चाहियो । यदि यहाँ काम पाउने हो भने आईटी पढेका विद्यार्थीहरु बाहिर जाँदैनन् । १० लाख मान्छेलाई रोजगार दिन सकिने हुन्छ । अहिले आईटी पढेकाहरुलाई जागिर पाउनुभयो भनेर सोध्यो भने पाएको छैन भन्ने जवाफ पाइन्छ । यद्यपी आफ्नै पहलमा पनि नेपालबाट विदेशका अवसरहरू खाेजेर राम्राे कमाइ गर्ने जनशक्तिकाे संख्या धेरै छ । आआफ्नाे कम्युटरबाट घरघरमा बसेर स्वराेजगार भइरहेका युवाहरूकाे तथ्यांक बारे सरकार र निजी क्षेत्रकाे संयुक्त प्रयासमा मात्र खाेजि गर्न सकिने विषय हाे ।
विद्यार्थीहरुलाई सैद्धान्तिकरुपमा पढेको हुन्छ तर व्यवहारिकरुपमा पढेको हुँदैन । जसको कारण उनीहरुले जागीर नपाउने समस्या भने रहन्छ । कसैले भनिदियो भने ३ महिनासम्म कुनै पनि शुल्क नलिई काम गर्नुपर्ने हुन्छ । अर्को ३ महिनामा १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पाउँछ । यो ६ महिनाको अवधि भयो । अर्को ३ महिनामा उसले २५ हजार रुपैयाँ पाउँछ । ९ महिनाको अवधिमा २५ हजार रुपैयाँ पाउँछ । यो समयसम्म यो देशमा बसेर काम छैन भन्ने कुरा ती विद्यार्थीहरुमा आउँछ र बाहिर जाने गरेका छन् । नेपालमा विद्यालय र उद्योगबिचमा खाडल छ । विद्यालयले उत्पादन गर्छ तर उद्योगलाई ती विद्यार्थी चाहिएको छ कि छैन भन्ने कुराको मतलब नभएका कारण समस्या आएको छ ।
कलेजहरुले विद्यार्थीहरु पास भएछि ६ महिनाको लागि उद्योगहरुसँग कुरा गरेर कस्ता विद्यार्थी चाहिएको हो त्यस्तै विद्यार्थी उत्पादन गर्छौ भन्नुपर्छ । त्यसले उसले इन्टर्न गर्न पर्दैन नेपालमा ५० हजार रुपैयाँभन्दा माथि मज्जाले कमाउन सक्छ । नेपाल सरकारलाई हामीले फिनिसिङ स्कुलको अवधारणामा जानको लागि भनिरहेको छौं । त्यसलाई क्यान महासंघले पनि साथ दिन्छ।
नीतिगत रूपमा सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नीतिहरु अहिलेको अवस्थामा पर्याप्त छ कि छैन ?
नीतिहरु अलिकति पर्याप्त छैन । नीति बनाउँदा चाँडो सकेर कार्यान्वयन गर्नुपर्ने हुन्छ । आईटी विधयक वर्षाैँदेखि अड्केको अड्क्यै छ । आजको दिनमा जरुरी छ । नेपाल सरकारले बजेटमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्न सक्छौं भनेर उल्लेख गरेको छ । यो भनिसकेपछि नीति निर्माण गर्नुपर्ने हो तर कसरी गर्ने ? यो कुरामा समस्या भइरहेको छ । हामीले सूचना तथा सञ्चार मन्त्रालयमा यो विषयमा छलफल गर्यौ । यो यत्तिकै आउने होइन केही सुविधाहरु दिनुपर्यो । सूचना प्रविधिमा यो कुरा गरे सरकारले यो दिनसक्छ भन्ने हुनुपर्छ । बजेटमा कति ठाउँहरु फ्रिमा दिन्छु भनेर आएको थियो ।
हामीले आईटी हब बनाइदिन र त्यो भित्र विभिन्न सुविधाहरु दिनुस् भनेको थियौं । हामीले यो गर्यौ भने १० वर्षमा सोचेको ३० खर्ब रुपैयाँ ल्याउन सकिन्छ । कर छुट पनि दिनुपर्ने हुन्छ । नयाँलाई ५ वर्ष ३ वर्षसम्म कर छुट पनि दिन सकिन्छ । व्यवसाय आज सुरु गर्ने वित्तीकै नाफा दिन सकिँदैन । सूचना प्रविधिमा गरेको लगानी सुरक्षित हुनुपर्छ । ऐन बनाइसकेपछि ५ वर्षसम्म परिवर्तन गर्न हुँदैन । सूचना प्रविधि क्षेत्रमा लगानी गरें र दुई वर्षमा अर्को सरकार आएर नीति परिवर्तन गर्यो भने बस्ने कि जाने भन्ने हुन्छ । ५ वर्षको योजनामा नीति नियम ल्यायो भने त्यो यसमा लगानी आउँछ र राम्रो हुन्छ ।
महासंघको अध्यक्षको हिसाबले हेर्दा नेपालको सूचना प्रविधि क्षेत्रमा चुनौती र अवसरहरु के के छन् ?
नेपालमा सूचना प्रविधि क्षेत्रमा अवसर नै अवसर छ । आजको दिनमा सूचना प्रविधि क्षेत्रले धेरै नै फड्को मारेको छ । आज गाउँगाउँ जहाँ गएपनि मोबाइल इन्टरनेटदेखि लिएर सबै कुराहरु पुगेको छ । हाम्रो उद्योगको विकास गर्ने हो भने नीति निर्माणमा केही परिवर्तन गर्नुपर्छ । आजको दिनमा भारत कहाँ पुगिसकेको छ । नेपाली कम्पनीहरु भारत गइरहेको छ । त्यसलाई रोक्न सक्नुपर्छ ।
सरकारले ६ महिना अथवा ६ वर्षपछि नियम कानुन परिवर्तन गरेर पूरानो रकम पनि तिर्नुपर्ने बनाउँछ । त्यसले गर्दा यहाँ लगानी गरेर व्यवसाय गर्न चाहँदैनन् । लगानी गर्नको लागि मान्छेहरु तर्सिन्छ । यहाँ डाटा सेन्टरहरुको लागि अवसरहरु धेरै छन् । नेपालमा डाटा सेन्टर खोल्न सकिन्छ । डाटा सेन्टर खोल्दा उनीहरुलाई के के सुविधा दिने भनेर राज्यले निर्णय गरेको खण्डमा विदेशीहरु नेपालमा लगानी गर्न आउँछन् । यसमा भएका चुनौतीहरुको सहजीकरण गर्नको लागि नेपाल सरकारले भूमिका खेल्नुपर्ने देखिन्छ ।
पछिल्लो समय सफ्टवयेर निर्यातका विषयहरु धेरै उठ्ने गरेका छन् । नेपालको निर्यातको लागि चुनौती र अवसर के छन् ?
आजको दिनमा नेपाली कम्पनीलाई नेपालीले नै विश्वास नगरेको अवस्था छ । सरकारदेखि नागरिकले विदेशी सफ्टवयेरलाई धेरै ध्यान दिएको अवस्था छ । पछिल्ला दिनमा नेपालीले बनाएका सफ्टवयेर विदेशीले किन्न गरेको भए पनि नेपालले भने विदेशबाट आयात गरिरहेको छ । नेपाली सफ्टवयेरलाई नेपालीहरुले नै विश्वास नगरेको अवस्था छ । यदि सरकारले चाहेमा नेपालमा बनेका सफ्टवयेरहरु किन्न सक्छ । आजको दिनमा बाहिरबाट सफ्टवयेर किन्नुभन्दा नेपाली कम्पनीहरुसँग नै किन सरकारले सफ्टवयेर किन्दैनन् ?
यदि नेपालमा सरकारले खोजेको सफ्टवयेर बनेको छैन भने त्यो बेला किन्नुपर्छ । त्यसको लागि पनि नेपालमा भएका दुई तीन वटा कम्पनीहरुलाई मर्ज गरेर राम्रो कम्पनी बनाउन सक्ने भएपनि सरकारले त्यतातिर ध्यान दिएको छैन । जबसम्म कुनैपनि कम्पनीहरुले अवसर पाउँदैनन् त्यस बेलासम्म चुनौतीलाई सामना गर्न सक्दैनन् । त्यसैले सरकारले यस विषयमा अवसरहरु प्रदान गर्न आवश्यक छ ।
नेपाल सरकारले यहाँ बनेका सफ्टवयेर चलाएर नेपाली जनतालाई विश्वास दिलाउनुपर्छ । आजको दिनमा पुमरी भन्ने सफ्टवयेर क वर्गको बैंकमा चल्दा अन्य क्षेत्रमा किन चल्न सकेको छैन ? त्यसैले नेपाल सरकारले नेपालमा उत्पादन भएका सफ्टवयेर बाहिर आयात गर्न रोक्यो भने बाहिर जाने पैसा नेपालमा नै रहन्छ । यसले देशमा रोजगारीदेखि आर्थिक अवस्थामा परिवर्तन आउँछ । सरकारले नेपाली सफ्टवेयर प्रयोग गर्ने भनेर प्रतिबद्धता व्यक्त गरेपनि लागू गरेको छैन । सरकारले अझै पनि नेपाली कम्पनीले टेन्डर हाल्ने अवस्था नै बनाएको छैन । ती कुराहरुलाई हटाएर सरकारले नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ ।
स्थानीयतहदेखि केन्द्र सरकारले यसमा ध्यान दिन आवश्यक छ । कुनैपनि सफ्टवेयरमा समस्या आयो भने त्यो समस्या समाधान गराउनको लागि सोही कम्पनीलाई समाउन पनि सकिन्छ । बाहिरको कम्पनी रहेको खण्डमा बनाउन समय पनि लाग्छ । सरकारले यस्ता साना साना कुरामा परिवर्तन गरे समग्र प्रविधि क्षेत्रमा परिवर्तन हुने थियो ।
अहिले सरकार र निजी क्षेत्रले सफ्टवयेर मात्रा कुरा गरेको छ तर नेपालमा हार्डवेयर क्षेत्रको बहस कम भएको पाइन्छ । यसको अवस्था कस्तो छ ?
कुनैपनि कुराको उत्पादन गरेर निर्यात गर्न सक्नुपर्छ । हार्डवेयर क्षेत्रको कुरा गर्दा भारत यसको लागि ठूलो बजार हो । भारतमा पनि ठूला ठूला कम्पनीहरु छन् । कम्पनीहरुलाई नेपालमा ठाउँ दिएर हार्डवेयर निर्यात गर्न सकिन्छ । सामसुङ्ग, एप्पल लगायतका कम्पनीहरुलाई ठाउँ दिने हो भने नेपालमा आएर एसेम्बल गर्न सक्छन् । नेपालमा गाडी पनि एसेम्बल भएका छन् । हार्डवेयरलाई नेपालमा मात्र केन्द्रित गरेर सम्भव छैन ।
नेपाल सानो बजार हो र लगानी धेरै हुन्छ । यहाँबाट निर्यात गर्दा यस्ता सुविधा छन् भनेर नियम बनाउने र लगानी गर्नको लागि प्रोत्साहन गर्न आवश्यक छ । यसको लागि सरकारले पहल गर्नुपर्छ । यस्तो अवस्था भयो भने नेपालीले सस्तोमा पाउँछ र विदेश निर्यात गरेर फाइदा पनि लिन सकिन्छ ।
इतिहासमा पहिलो पटक क्यान महासंघमा महिला अध्यक्ष आउँदै हुनुहुन्छ । यसमा तपाईँको भूमिका कस्तो रह्यो ?
मेरो भूमिका राम्रो रह्यो । अब आउने क्यानको अध्यक्ष सुनैना पाण्डे क्यानको पुरानो सदस्य पनि हुनुहुन्छ । उहाँ र म क्यानमा केन्द्रिय सदस्यको रुपमा सँगसँगै छिरेको थियौँ । उहाँ उपाध्यक्ष हुँदा म महासचिव थिएँ । उहाँ क्यानलाई बुझेको मान्छे भनेर निवर्तमान अध्यक्ष नवराज कुँवर र म मिलेर अध्यक्षमा सर्वसम्मत गराएका हौँ । त्यसैले आउँदो दिन हामी सँगै हातमालो गरेर प्रविधि क्षेत्रलाई थप माथि उकास्ने काम गर्ने छौँ ।
अब आउने नेतृत्वलाई अवसर र चुनौती के छन् र उहाँहरुले गर्नुपर्ने काम के के छन् ?
नयाँ आउने नेतृत्वले सरकारले बनाउने नीति नियममा साथ दिनुपर्ने छ जुन अहिलेसम्मको नेतृत्वले गर्दै आएको छ । क्यान महासंघलाई विश्वमा चिनाउनको लागि अन्तर्राष्ट्रिय चार वटा अवार्ड नेपालको लागि लिएर आएका छौँ । अर्को वर्ष स्मार्ट सिटी भनेर कार्यक्रम गर्न लागेका छौँ । यसको लागि चुनौती छ । यो कार्यक्रम गर्न सकिन्छ कि सकिदैँन त्यो आफ्नो ठाउँमा छ । अब आउने कार्यसमितिले के कस्ता काम गर्छ भन्ने कुरा हेर्न बाकीँ नै छ । तर कुर्सीमा पुगेपछि धेरै चुनौती पनि देखिन्छ । आफूले भोगे अनुसार सबै कुराहरु आफूले आँटेर गरे गर्न सकिन्छ भन्ने विश्वास मलाई छ ।
प्रतिक्रिया दिनुहोस्