निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका छन् ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममा मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने उल्लेख गरे । विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन् भनेर निरास हुने अवस्था नरहेको उनकाे भनाइ छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाको सपना हुने दाबी गरे । निजगढ विमानस्थल बनाउने कुरा छायाँमा पार्न दिन नहुने उनले उल्लेख गरे । सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्नेमा जोड दिए । उनले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताए । 

उनले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको र त्यसको लागि सरकारले कुटनीतिक रुपमा पहल गर्न आवश्यक रहेको उल्लेख गरे । —न्युज एजेन्सी नेपाल