विश्व जलवायु च्याम्पियनसिप २०२४ स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्डमा सम्पन्न


काठमाडौं । नेपाल युएस एलम्नाई नेटवर्क नुसानले जिइस्ट अन्तर्राष्ट्रिय फाउण्डेन, काठमाडौँ विश्वविद्यालय, र स्वोतिश्री गुरुकुल आइबी स्कुलसँगको सहकार्यमा काठमाडौँमा जलवायु चुनौतिका बारेमा कार्यशाला सम्पन्न गरेको छ ।

वर्ल्ड च्याम्पियनशिप अन क्लाइमेट एक्सन नाम दिएको उक्त कार्यक्रमलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गरेका थिए।

शिक्षा र जलवायु परिवर्तनको महत्त्वपूर्ण विषयलाई केन्द्रमा राख्दै नुसानले जलवायु चुनौति सम्मेलन र चौथो ग्लोबल समिट अन एजुकेशन गरि एकै दिन दुई विशेष कार्यक्रम सम्पन्न गरेको हो । यी कार्यक्रमहरूले शिक्षा, वातावरण, र दिगो भविष्यको लागि साझा प्रयासलाई थप प्रवर्द्धन गर्न मद्त पुग्ने विश्वास कार्यक्रमका उपस्थितिहरूको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले यस्तो महत्वपूर्ण विषयमा कार्यक्रम आयोजना गरेकोमा आयोजकहरूलाई धन्यवाद दिँदै भने, “जलवायु परिवर्तन नेपाल मात्रको समस्या नभएर यो एक विश्वव्यापी चुनौती र समस्या रहेको छ । यस्तो समस्याको समाधानमा युवा पुस्तालाई सक्रिय सहभागी गराइ यस्तो मञ्च प्रदान गर्नु अत्यन्त सराहनीय छ ।”

यस प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, भियतनाम, र अमेरिका गरी पाँच देशका करिब १८० विद्यार्थीले भाग लिएका थिए भने प्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता थियो । विद्यार्थीहरुले जलवायु विज्ञान ओलम्पियाड, जलवायु कार्य अनुसन्धान, पोस्टर र मोडल प्रदर्शन, जलवायु कार्य सम्बन्धित भित्ते पत्रिका, कलात्मक प्रतियोगिता, आइडिया च्यालेन्ज प्रतियोगिता प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा भाग लिएका थिए ।

कार्यक्रमले युवा पुस्तालाई जलवायु परिवर्तनका चुनौतीहरू समाधान गर्न सक्रिय रूपमा संलग्न गराउने र जसका लागि अन्तर्राष्ट्रिय सहकार्य र सिर्जनात्मकतालाई प्रोत्साहन गरी, यस च्याम्पियनसिपले दिगो भविष्यका लागि दीर्घकालीन समाधानहरू खोज्ने लक्ष्य राखेको थियो ।

उक्त समारोहमा स्वस्तिश्री गुरुकुल आई.बी. वल्र्ड स्कुलकी प्रधानाध्यापक नेहा के.सी.ले प्रमुख अतिथि, विशेष अतिथिलगायत सम्पूर्ण पाहुना तथा प्रतियोगी विद्यार्थीहरुलाई स्वागत गर्दै अहिले विश्वले सामना गरिरहेको जलवायु परिवर्तनको चुनौतीलाई युवापुस्ताबिच राखेर समाधानका उपाय खोज्नु आफैँमा महत्वपूर्ण र सान्दर्भिक रहेको बताए । यस्तो विश्वव्यापी समस्यालाई विभिन्न देशका विद्यार्थीहरूसँगै बसेर समाधान खोज्ने यो प्रयासमा स्वस्तिश्री गुरुकुल आई.बी.स्कुल सहभागी हुनु र सहप्रायोजक हुनु आफैँमा गौरवको विषय भएको बताए ।