रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि


काठमाडाैँ । नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ ।

रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो । यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ ।

केन्द्रिय रक्तसञ्चार सेवामा र्‍यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको सुरूवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताए । उनले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताए ।

उनले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरू फैलनबाट पूर्णरुपमा रोक्न क्लियाले सहयोग गर्ने बताए । उनले यसअघि र्‍यापिड वा इलाइजा प्रविधिबाट रक्तदाताको तीनदेखि ६ महिनाको रगतको इन्फेक्सन थाहा पाइँदै आएकोमा १५ दिन अघिको रगतको संक्रमण थाहा पाउन सकिने बताए ।उनले क्लिया प्रविधिले इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नको लागि ठूलो सहयोग पुर्‍याउने बताए ।

पछिल्लो समय रगतको माग बढ्दै गएपनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा संक्रमणको रागेहरूको जोखिम बढेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका थिए । रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुंगा सावित हुने उनको विश्वास छ । 

त्यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले आफूहरूको मुख्य उद्देश्य रगतको सुरक्षालाई बढावा दिनु रहेको उल्लेख गर्दै क्लिया प्रविधिले सहयोग गर्ने बताए । क्लिया प्रविधि भित्रिएसँगै रगतको सुरक्षा गुणात्मक रुपमा बढेको उनले बताए । उनले उक्त प्रविधिको माध्यमबाट रगतको माध्यमबाट सर्ने रोगहरुलाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिने बताए । उनले बिस्तारै रेडक्रशका देशभर रहेका रक्तसञ्चार सेवामा यस्तो प्रविधि जडान गर्न जरुरी रहेको बताए । देशभरका रक्तसञ्चार केन्द्रहरुमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्ने पहलको सुरूवात भएको उनको भनाइ छ । 

यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएको थियो ।