दक्षिण कोरियामा जेजु एयर विमान दुर्घटना: ९६ जनाको शव फेला, २ जनाको उद्धार


काठमाडौँ। आज दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दुर्घटनाग्रस्त भएको छ। कोरिया टाइम्सका अनुसार उक्त दुर्घटनामा परेका १८१ यात्रुमध्ये हालसम्म ९६ जनाको शव निकालिएको छ। २ जनालाई जीवितै उद्धार गरिएको छ भने बाँकी ७६ यात्रुको मृत्यु भएको आशंका गरिएको छ।

समाचार एजेन्सी योनहापका अनुसार अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएपछि विमानले ल्यान्डिङ गियरबिना नै अवतरण गर्नुपरेको थियो। धावनमार्गमा अवतरण गरेपछि विमान चिप्लिएर विमानस्थलको बारसँग ठोक्किँदा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनाका बेला विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए। दुर्घटना स्थानीय समयअनुसार बिहान ९ः०७ मा भएको बताइएको छ। यस दुर्घटनापछि मुआन विमानस्थलका सबै स्थानीय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।

यसैगरी, डिसेम्बर २५ मा अजरबैजानबाट रुस जाँदै गरेको विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त विमानमा ५ जना चालक दलका सदस्य र ६७ जना यात्रु सवार थिए, जसमध्ये ३८ जनाको ज्यान गएको थियो।