काठमाडाैँ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण सम्पन्न भएको छ ।
युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा भइरहेको सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गरेका थिए ।
जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका थिए ।
परियोजनाको चयन गर्दा नवीन बैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने जनाइएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’उपाधिले सम्मानित गरिएको थियो । यसका साथै, युवा वैज्ञानिकले सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनका लागि आवेदन दिन पाउनेछन् ।
विद्यार्थीहरुको आइडियाहरुलाई साटासाट गर्नको लागि यस्तो कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ । सम्मेलनमा लगभग ४३ वटा विद्यालयको सहभागिता रहेको थियो । सिंगापुर र इन्डिया स्कुलले समेत अनलाइनबाट सहभागिता जनाएका थिए ।
यसैगरी उक्त सम्मेलनमा काठमाडौँ र काठमाडौँ बाहिर गरेर लगभग तीन सय विद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।
प्रतिष्ठित नेपाली वैज्ञानिकहरूको मूल्याकंन समितिले प्रस्तावना, भिडियो क्लिप, पोस्टर र मौखिक प्रस्तुतीहरूको नवीनता र मौलिकताका आधारमा विजेता चयन गरेका हुन् । प्रत्येक विधाका विजेतालाई युवा वैज्ञानिकको उपाधि, प्रमाणपत्र, पदक र नगद रुपैयाँसमेत प्रदान गरिएको छ । त्यस्तै, विजेताहरूले एसिया प्यासिफिक कन्फरेन्स अफ योङ्ग साइन्टिस्ट्स २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्