काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार नेप्सेमा प्रभु बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड १० लाख ८२ हजार ६६४ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आइतबार ५ ओटा कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।
कुल ३१६ कम्पनीको एक करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्