काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको छ ।
आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको वैठकले स्व.सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्याएकाे याेगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
वि. सं. १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१ पुस १ गते निधन भएकाे थियाे । वि.सं०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उनी नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका थिए । उनको कार्यकाल २०५३ चैत २४ गतेसम्म रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्