च्याउ खेतीलाई व्यवसायिक बनाउन मन्त्रालयले ठोस योजना अघि बढाउने छः कृषिमन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउ खेतीलाई आत्मनिर्भर बनाउने र यसको व्यवसायिक विस्तारका लागि मन्त्रालयले ठोस योजना अघि बढाउने बताएका छन् । च्याउ उत्पादक किसान संघ नेपालकाे आयाेजनामा गरिएकाे एक दिने च्याउ मेला तथा परिकार महाेसत्वमा बाेल्दै उनले च्याउ खेतीको उत्पादन र मागमा भइरहेको वृद्धिलाई सकारात्मक रूपमा लिएर चुनौतीहरूको समाधानमा अग्रसर हुनुपर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले नेपालमा व्यवसायिक रूपमा कन्ये, गोव्रे, सिताके, पराले, ग्यानोडर्मा जस्ता च्याउहरूको खेती हुँदै आएको उल्लेख गरे। हालै दुधे च्याउ खेती प्रविधि विकास भएसँगै उच्च तापक्रममा पनि च्याउ उत्पादन गर्न सकिने जानकारी गराउँदै उनले गुणस्तरिय बीउको समस्या समाधानका लागि खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाको काम अघि बढेको बताए।

उनले च्याउ खेतीलाई युवामैत्री व्यवसायका रूपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिँदै वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई यस क्षेत्रमा आकर्षित गर्न कार्यक्रमहरू अघि बढाइने बताए । साथै, च्याउ खेतीमा प्रविधिको विकास, अनुसन्धान र उत्पादन विविधिकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।

मन्त्री अधिकारीले गुच्छी, धमिरे, लेटिपोरसजस्ता बहुमूल्य र पौष्टिक जंगली च्याउहरूको खेती प्रविधि विकास र यसको विजन उत्पादनमा अनुसन्धान सुरू भएको जानकारी दिए। उनले च्याउ उत्पादनको विस्तारका लागि बजार प्रवर्द्धन, मेला र महोत्सवहरूको निरन्तरतामा सरकारको प्रतिबद्धता रहेको बताए।

च्याउ खेतीलाई व्यवसायिक सफलता दिलाउन आधुनिक शेड, जलवायु नियन्त्रण कक्ष, र अन्य आवश्यक संरचनाको विकासलाई प्राथमिकतामा राखिने उनले बताए। “नेपालको जैविक विविधताले विभिन्न स्थानअनुसार उपयुक्त च्याउ जातहरूको खेती सम्भव बनाएको छ। यसले कृषकहरूको आय वृद्धि, पोषणयुक्त खाद्य पदार्थको उपलब्धता, र निर्यातको सम्भावनालाई बढाउनेछ,” मन्त्री अधिकारीले भने।

अधिकारीले च्याउको उत्पादन विविधिकरणमार्फत नयाँ परिकारहरू उपभोक्तामाझ पुर्‍याउनुपर्ने र खानेबानीको विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए। मन्त्री अधिकारीले कृषि मन्त्रालयले च्याउ खेती प्रवर्द्धनमा आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको र च्याउ उत्पादनलाई थप व्यवसायिक सफलतामा लैजान सरकार, निजी क्षेत्र, र किसानहरूको हातेमालो अपरिहार्य रहेको बताए।