मालदार र बद्नाम अड्डाबाट भन्सारलाई रूपान्तरण गर्नेगरी ऐन बनाउनुपर्छः उपसभापति वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई  संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै उपसभापति वाग्लले भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा जोड दिएका हुन् ।

उनले ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गरे । उनले यस्ता कार्यहरू भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले व्यवस्था गर्नुपर्ने जिकिर गरे । उनले भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको बताए ।

उनले भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताए । उनले भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको ऐनमा व्यवस्था गरी भन्सारमा सुधार ल्याउनुपर्ने बताए । उनले बदनाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरु ल्याउनुपर्नेमा जोड दिए ।

उनले भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको बताए । उनले भन्सार रुपान्तरणको लागि राजनीतिक प्रतिवद्धतासहित अब मालदार र बद्नाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको उल्लेख गरे ।