काठमाडाैँ । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ । बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामि फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतिहरुको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ ।
अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ । उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए । समग्र कृषी र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनको भनाइ छ । उनले श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताए ।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताइएको छ । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको भएपनि सम्मेलनबाट आएका निस्कर्षहरु कार्यान्वयन गर्न सकेको छैन । यस सम्मेलनले विगतमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्