काठमाडाैँ । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा बाँड्ने आयोगको योजना रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष रिजालले यस्तो कार्ययोजना रहेको बताए । अहिलेको आयोगलाई सबै जिल्लामा तीन वर्षको अवधि दिने भन्दा पनि निवेदनका आधारमा अवधि निर्धारण गरिएको उनकाे भनाइ छ ।
भूमि आयोगले जिल्ला र पालिकालाई लक्ष्य दिएर आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा वितरण गर्ने योजना बनाएको उनले उल्लेख गरे । उनले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने गरी पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
आयोगले अहिले प्रमाणिकरण भएको संख्यालाई आगामी तीन महिनाभित्र लालपूर्जा बाँड्ने गरी काम अगाडि बढाएको समितिलाई उनले जानकारी दिए । उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गरिएको लगत संकलनमा १० लाख ९६ हजार आएको बताए । आयोगले अब एक पटकलाई लगत संकलन खुला गर्ने र लगत संकलनको काम बन्द गरिने उनले उल्लेख गरे ।
उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी पहिचान र प्रमाणिकरणको काम सकिएको घोषणा गर्दै जाने बताए । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासीको संख्या यकिन गरी प्रमाणिकरणको काम पालिका वडाहरुमा बन्द भएको घोषणा गर्दै जाने उनकाे भनाइ छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्