भक्तपुरमा ‘ओखलढुंगे डेरी एण्ड एग्री फुड’ सञ्चालनमा


काठमाडौँ । ‘ओडिएको पुष्टी, स्वाद र सन्तुष्टी’ भन्ने नाराका साथ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि. सञ्चालनमा आएको छ।

बुधबार एक समारोहबिच भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले उद्योगको उद्घाटन गरेका हुन् । नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाको नेतृत्वमा स्थापना भएको यो उद्योगले दूधजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको छ।

डेरी उद्योगमा विविधीकरणको अभावका कारण धुलो दूध र बटरजस्ता उत्पादनको बिक्रीमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले उद्योगले दूध, दही, पनिर, घ्यू, खुवा, लालमोहन, रसभरी, आइस्क्रिम, कुल्फी, भुजिया, पनिर मःम, गुदपाक र पुष्टकारीजस्ता उत्पादन सुरू गरेको छ। अध्यक्ष धमलाले उद्योगले ग्रामीण क्षेत्रमा दैनिक तीन लाख ५० हजार रुपैयाँ नगद प्रवाह गर्नेसहित प्रत्यक्ष १० देखि १५ जनालाई रोजगारी सिर्जना गर्ने बताए।

उद्योगले स्वदेशी युवालाई उद्यमशीलतामा प्रेरणा दिनुका साथै स्वदेशी उत्पादन प्रवर्द्धन र अर्थतन्त्रलाई सुदृढ बनाउन भूमिका खेल्ने विश्वास लिएको छ। उद्घाटन समारोहमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यस उद्योगले फरक पहिचानसहित बजारमा स्थान जमाउने र एसोसिएसनको पूर्ण समर्थन रहने बताए।

राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादवले लामो अनुभवका आधारमा उद्योग स्थापना गरिएको बताउँदै बोर्डबाट आवश्यक सहयोग प्रदान गरिने उल्लेख गरे। सूर्यविनायक वडा नम्बर २ का वडाध्यक्ष प्रतित कार्कीले वडामा यस्तो उद्योग स्थापना भएकोमा खुसी व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले फरक उत्पादनमार्फत उद्योगले डेरी क्षेत्रलाई नयाँ सम्भावनातर्फ अघि बढाएको टिप्पणी गरे। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले आधुनिक उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै यो प्रयास समयानुकूल रहेको बताए।

समारोहमा अतिथिहरूलाई उद्योगले उत्पादन गरेका घ्यू, लालमोहन र पनिरजस्ता सामग्री उपहारस्वरूप वितरण गरिएको थियो। कार्यक्रमको शुभारम्भ बालबालिकालाई दूध सेवन गराएर गरिएको थियो भने खुवाको केक वितरण गरिएको थियो।