काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको उनकाे भनाइ छ । उनले सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भएपनि कानूनको दायरामा ल्याउनुपर्ने बताए ।
ललिता निवासको सयौं रोपनि जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभइ धन्यावाद दिने उल्लेख गरे ।
नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको थियो ।
त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सिआईबीले पत्र लेखिसकेको छ । बिहीवार समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्