कर्णालीमा सवारी साधन दर्ता घट्यो, सञ्चार सेवाको पहुँच बढ्यो


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले कर्णाली प्रदेशको यातायात र सञ्चार क्षेत्रमा उल्लेखनीय भिन्नता देखाएको छ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८\७९ मा २० हजार २०३ सवारी साधन दर्ता भए पनि यो संख्या २०७९\८० मा घटेर ३ हजार ३९४ मा झरेको थियो। त्यसपछि, २०८०\८१ मा झन् कमी आइ सवारी साधनको संख्या केवल ३,००४ मा सीमित भएको छ। मोटरसाइकलको दर्ता ३.१४ प्रतिशतले घटेर २ हजार ४३८ मा झरेको छ भने अन्य सवारी साधनको संख्या ३५.४६ प्रतिशतले कमी आई ५६६ मा झरेको छ।

त्यसो त, सञ्चार क्षेत्रले भने सुधारको संकेत देखाएको छ। नेपाल टेलिकमद्वारा वितरित स्थायी टेलिफोन सेवाको संख्या १२.२६ प्रतिशतले वृद्धि भई १ हजार ६६६ पुगेको छ। यो प्रगति दुर्गम क्षेत्रका बासिन्दामा सञ्चार पहुँच विस्तारतर्फको सकारात्मक कदमको रूपमा हेरिएको छ। तर, मोबाइल सिम कार्ड वितरणमा भने कमी आएको छ। २०८०\८१ मा १,०५,०६० सिम कार्ड वितरण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०७ प्रतिशतले कम हो।