सरकारको मर्म अनुसार काम गर्न कर्मचारीहरूलाई मन्त्री दाहालको निर्देशन


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरि काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

सडक विभाग मार्फत पोखरामा आयोजना गरिएको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्वन्धि दुई दिने कार्यशालाको समापनका अवसरमा निर्देशनात्मक मन्तव्य दिँदै उनले विकास निर्माणलाई तिव्रता दिई आर्थिक समृद्धीको लक्ष्य हाँसिल गर्नु पर्ने भएकाले सोहि ढंगबाट काम गर्न निर्देशन दिएका हुन् ।

रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनाहरूलाई गति दिने गरि कार्यक्षेत्रमा खटिन उनको आग्रह छ । असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कार्वाहीमा परिन्छ कि भन्ने डर नमानि कार्यगर्न भन्दै उनले नीतिगत समस्याहरु भए मन्त्रालयले सहजीकरण गर्ने समेत प्रतिवद्धता जनाए।

नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनि रहेका संरचनाहरुलाई दिगो र सुरक्षित बनाउने तर्फ ध्यान दिन समेत उनको आग्रह छ । आयोजनाहरूलाई आवश्यकता र उपयोगीताका आधारमा प्राथमिकता दिईनु पर्ने भन्दै मन्त्री दाहालले संख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा निर्माण कार्यमा जोड दिनु पर्ने बताए । कुनै पनि आयोजना लामो समय सम्म अलपत्र रहने अवस्थाको अन्त्य गर्न भन्दै उनले योजना, आयोजना अलपत्र पारिने प्रवृतिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रत्येक आयोजनाहरूको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन तथा कार्यक्षेत्रमानै रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूलाई निर्देशन दिए । कार्यसम्पादनका क्रममा बेरुजू फस्र्यौटलाई समेत ध्यान दिँदै बेरुजू नहुने ढंगबाट काम गर्न आग्रह गरे ।

कार्यशालामा सडक विभागका महानिर्देशक रामहरी पोखरेल, उपमहानिर्देशक उमेशविन्दू श्रेष्ठ, मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, कृष्णराज पन्त, प्रभातकुमार झा लगायतले विभिन्न विषयमा अवधारणा पत्रहरू पेश गरेका थिए । कर्मचारीहरूको कार्यसम्पादनलाई थप गतिशिल बनाउन देशका अन्य भागमा समेत यस प्रकारको कार्यशाला सञ्चालन गरिने सडक विभागका महानिर्देशक पोखरेलले जानकारी दिए ।

१७ बुँदे प्रतिवद्धता तथा निर्देशन
१७ बुँदे प्रतिवद्धता तथा निर्देशन जारी गर्दै कार्यशाला समापन भएको छ । बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रुपमा सडक विभागमा पठाउन लगायत विषयहरू त्यसमा समेटिएको छ । रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाहरूको नियमित नियमन गर्न लगायतका विषयहरु समेत त्यसमा रहेका छन् । उक्त १७ बुँदे प्रतिवद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न समेत मन्त्री दाहालले आग्रह गरे । उल्लेखित विषयहरू कार्यान्वयन भए, नभएको मुल्यांकन मन्त्रालयले गर्ने र त्यसलाई दण्ड र पुरस्कार प्रदानको आधार समेत बनाईने मन्त्रालयका सचिव शर्माले बताए ।