निर्माण कार्यमा प्रयोग गरिने सवारी साधन प्रदुषण जाँचका लागि पठाउन उपप्रमुख डंगोलको निर्देशन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरूको प्रदुषण जाँच गराउन निर्देशन दिएकी छन् । महानगरको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पूर्वी क्षेत्रको वडा नम्बर ७ चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारी साधनले धुँवा फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् ।

“सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,” उनले निर्माण पक्षलाई निर्देशन दिइन् ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसरी सञ्चालन भएको योजनाको अनुगमनका क्रममा गणेश मार्गको अनुगमनका क्रममा उनले, सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी र विभागका प्रमुख सुरज शाक्यसँग प्राविधिक पक्षमा र स्थानीयबासीसँग सामाजिक प्रभावका विषयमा जानकारी लिएकी थिइन् ।