यसवर्ष साढे ५९ लाख मेट्रिक टन धान उत्पादन, गत वर्षकाे तुलनामा ४ प्रतिशतले बढ्यो


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१\०८२को धान उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । जसअनुसार, देशभरि उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुग्ने सम्भावना देखिएको छ। यो गत वर्षको तुलनामा ४.४ प्रतिशतले बढी हो।

प्रारम्भिक अनुमानका अनुसार, वर्षे धानको उत्पादनमा ३ दिन अगाडि मनसुन सक्रिय भएको र यो बर्षे धानको लागि सहयोगी हुने बताइएको छ। जल तथा मौसम विज्ञान विभागका तथ्यांक अनुसार, मनसुनका समयमा बर्षा औषत भन्दा उच्च रहन गई धान बालीमा सकारात्मक असर पुर्याएको छ। रासायनिक मल र उन्नत जातको बीउको आयातमा भएको वृद्धि पनि उत्पादनमा सुधार ल्याउन महत्वपूर्ण भएको छ।

धान लगाइएको क्षेत्रफलमा १.२८ प्रतिशतको कमी भए तापनि उत्पादकत्वमा ४१९ मेट्रिक टन प्रति हेक्टरको उच्च विन्दु कायम भएको छ। कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा कमि हो।

प्रदेशगत विश्लेषणले कोशी, मधेश, लुम्बिनी, र सुदूर पश्चिम प्रदेशमा उत्पादनमा वृद्धि भएको देखाउँछ भने अन्य प्रदेशमा उत्पादनमा कमी आएको छ। विशेष रूपमा, रुकुम (पश्चिम) र लमजुङ्ग जिल्लामा उत्पादनमा कमी आएको छ।

साथै, Satellite image र Remote sensingको प्रयोगबाट प्राप्त नतिजाले मदेश प्रदेशमा धान भित्राईएको क्षेत्रफलमा कमी देखाएको छ।

चैते धानको उत्पादकत्व बर्षे धानको भन्दा उच्च रहेको र धान उत्पादनका प्रारम्भिक अनुमानले आगामी महिनामा खाद्यान्न आपूर्ति व्यवस्थामा सुधार ल्याउने विश्वास गरिएको छ ।