सूचना प्रविधि क्षेत्रका नीतिगत सुधारमा क्यानको अभियान केन्द्रीत हुन्छः अध्यक्ष पाण्डे


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको अध्यक्षमा सुनैना पाण्डे घिमिरे निर्वाचित भएकी छिन् । घिमिरे क्यानको प्रथम महिला अध्यक्ष बनेकी छिन् । पाण्डेको प्रविधि क्षेत्रको यात्रा कसरी सुरुवात भयो र आगामी रणनीति के छ भनेर टक्सारसँग गरेको कुराकानीः

क्यान महासंघकाे अध्यक्ष बनिरहँदा, प्रविधिको क्षेत्रमा तपाईको यात्रा कस्ताे रह्याे ?

विद्यालय पढ्दा मैले जुन बेलामा कम्प्युटर किने त्यसपछि नै मेरो प्रविधिमा रुची बढ्दै गयो । पछि मैले व्यवस्थापन नै पढें । पछि फेरी २ वर्षे स्पेशल एड्भान्स कोर्ष गरें । यो सन् १९९७ तिरको कुरा हो मैले पढ्दै गर्दा अर्कोतिर पढाउने मौका पनि पाएँ । त्यसपछि प्रविधि क्षेत्रमा नै जान्छु भनेर मैले सुरुवात गरेको हो ।

क्यानमा जोडिँदासम्म म लामो समयदेखि जागिरमा नै थिएँ । लगभग १२ वर्ष जति माइक्रोसफ्टमा नै जोडिएर काम गरें । सन् २०११ मा विदेशी लगानीको सूचना प्रविधि कम्पनी नेपालमा ल्याएर त्यसको नेतृत्व गर्ने मौका पाएँ । त्यस संस्थामा ७ वर्ष आबद्ध भएर बसें । जागिर खाएको लामो समय भएपछि आफैँलाई केही गर्ने र रोजगारी पनि दिने इच्छा लागेपछि जेनेरल टेक्नोलोजी भन्ने संस्था सुरु गरें ।

सन् २००९ मा माइक्रोसफ्टको विन्डोज् एक्स नेपाली भर्सनमा बनाउने, विन्डोज् अफिस नेपाली भर्सनमा बनाउने प्रोजेक्टमा थिएँ । त्यतिखेर क्यान महासंघमा महिला एकजना भनेर कार्यसमितिमा हुनुभएको सचिव नारायण न्यौपानेले पछि महासचिव पनि हुनुभयो । उहाँले सुचना प्रविधि क्षेत्रमा महिला हुनुहुन्न्थ्यो । म सक्रिय भएपछि मलाई ल्याउनको लागि उहाँले छलफल गरेर मनोनित गरेर ल्याउनु भयो । त्यतिबेला सुरेश कर्ण अध्यक्ष हुनुहुन्थ्यो । २००९ देखि क्यान महासंघमा आबद्ध भएको हुँ ।

सफ्टवेयर निर्माणमा विश्वको तुलनामा नेपाल कहाँ कस्तो स्थितिमा रहेकाे पाउनु भयाे ?

विश्व मानचित्रमा हेर्ने हो भने नेपाल एकदम सानो मुलुक पनि हो । सफ्टवेयर भनेको काममा निर्भर हुने संस्था हो । नेपालमा सूचना प्रविधि क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने कम छन् । त्यहि हिसाबमा दक्ष जनशक्ति पनि कम छ । हामी विश्वमान चित्रमा नगन्य सानोमैं छौं । तर हामीले परिमार्जन गरेर हामी पनि विश्वमान चित्रमा छौं भनेर देखाउन सक्छौं ।

किनभने यो एउटा यस्तो क्षेत्र हो जहाँ बसेर पनि काम गर्न मिल्छ । यो आफ्नो परिवारमा बसेर पनि गर्न सकिन्छ भन्ने हिसाबले युवापुस्तालाई देखाउन सके नेपाल पनि प्रविधि क्षेत्रमा राम्रो छ भनेर विश्वमान चित्रमा देखाउन सकिन्छ जस्तो लाग्छ ।

प्रविधि क्षेत्रमा भइरहेको लगानी अहिलेको अवस्था पर्याप्त लाग्छ?

सूचना प्रविधि क्षेत्रमा लगानीको एकदम ठुलो आवश्यकता पर्छ । अहिले जति लगानी भइरहेको छ त्यो पर्याप्त छैन । यसलाई दुईटा दृष्टिकोणबाट भन्छु । एउटा विदेशबाट नेपालमा आउटसोर्स गर्ने भयो भने अर्को भनेको नेपालमा भएको उत्पादनलाई विदेशमा कसरी लैजाने भन्ने छ । विदेशमा भएको कम्पनीले नेपाली दक्ष जनशक्ति प्रयोग गरेर सफ्टवेयरको विकास गरिरहेको छ ।

अर्को भनेको नेपालमा बनेको उत्पादनलाई विश्वमा लैजानको लागि नीतिले दिए पनि पर्याप्त छैन । निर्यात गर्न पाइन्छ यसको लागि खुशी मान्नुपर्छ । सूचना प्रविधिमा नेपालमा व्यवसाय गर्न जति लगानी गर्छौं त्यसको कयौं गुणा बढी लगानी विदेशमा कम्पनी स्थापना गर्न लाग्छ । त्यो लगानी हामीले बाहिर लैजान सक्ने अवस्था छैन ।

पछिल्लो समय दक्ष युवाशक्ति पलायनको अवस्था राेक्न क्यान महासंघले नेपालमा नै रोजगारी सिर्जना गर्न सक्ने सम्भावना कस्ताे छ ?

मेरो कार्यकालमा धेरै महत्वाकांक्षी नभई क्यानको जे गतिविधि छ त्यसलाई नै निरन्तरता दिन्छु । अर्को हामीलाई काम गर्न जुन नीतिहरुले रोकिरहेको छ त्यसलाई परिवर्तन गर्नको लागि पहल गर्छौं । ऐनहरु छिटो छिटो संशोधन हुने र पारित भएर आउने अवस्था छ । हाम्रो वैदेशिक सम्मेलन पनि हुने गरेको छ । वैदेशिक सम्मेलनमा विदेशबाट जुन लगानी आउँछ र लगानी गर्नेले नाफा लैजान खोज्छ ।

तर नेपालबाट नाफा लैजान गाह्रो छ भन्ने नकारात्मक खबर बाहिर गएको छ । लगानी गर्न अप्ठेरो र जोखिम छ भन्ने हल्ला बढी छ । हामीले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सुरक्षित र चाहेको खण्डमा लगानी फिर्ता सजिलो छ भन्ने सकारात्मक सन्देश दिन जरुरी छ । त्यसको लागि पहिला नीतिगत सुधार र यसको बजारीकरण सकारात्मक रुपमा गर्ने उद्देश्य छ ।

नेपालको हकमा सूचना प्रविधि क्षेत्रका लागि जुन नीतिहरू छन् यो पर्याप्त छैनन् भन्ने छ । थप नीति बनाउन र भएका नीतिहरु परिमार्जन गर्नको लागि क्यान महासंघले कस्तो भूमिका खेल्छ ?

नीतिहरू पर्याप्त नभएका भने होइनन् । सरकारबाट सूचना प्रविधि ऐन लामो समयदेखि पास भएर पनि बाहिर आउन सकेको छैन । मलाई लाग्छ अहिले एआईको लागि नयाँ ऐन ड्राफ्ट भएको छ । त्यो पनि छिटै आउँछ होला । त्यसले गर्दा ती नीति बाहेक अन्य नीतिहरू सूचना प्रविधि व्यवसायको लागि रोक्ने खालको ठाउँ छैन । यसलाई मैले फरक तरिकाले हेरको छु ।

सूचना प्रविधि क्षेत्र द्रुत गतिमा अघि बढ्ने क्षेत्र हो । यो क्षेत्रमो जो नयाँ छ त्यो मान्छे नयाँ प्रविधि सिकेर आएको हुन्छ र पूरानो मान्छेहरू पूरानो प्रविधि सिकेर आएको हुन्छ र विस्तारै नयाँ प्रविधिहरू टेकओभर गर्दै जान्छ ।

त्यसले गर्दा सूचना प्रविधि क्षेत्रको कामहरूअगाडि बढ्दै जान्छ र नीतिहरू विस्तारै बन्दै जान्छ । अन्य देशहरुको उदाहरण हेर्ने हो भने सूचना प्रविधिको काम पहिला हुन्छ भने नीति नियम पछि बन्छ । त्यसकारण नीति नियम बिना सूचना प्रविधि अघि बढ्दैन भन्ने मलाई लाग्दैन ।

डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी बनाउनको लागि तपाईको नेतृत्वले कस्तो भूमिका खेल्छ ?

मुख्य कुरा पछिल्लो समय इन्टरनेन्टमा कर ४२ प्रतिशत छ । हामीले डिजिटल नेपाल फेर्मवर्क भित्र आधारभूत आवश्यकता भनेर इन्टरनेटलाई राखेका छौँ । तर आधारभूत आवश्यकतामा यति ठूलो कर लगाउनु भनेको धेरै नै हो । यो सबै जनताले तिर्न सक्ने विषय होइन । सरकारले नियम कानुन बनाउँदा शहर केन्द्रित नभई दुरदराज केन्द्रित भएर काम गर्न आवश्यक छ ।

उनीहरुले पनि २४ औँं घन्टा इन्टरनेट चलाउने सुविधा हुनप-यो तर आजको दिनमा त्यो किसिमको सेवा पाउने अवस्था छैन । इन्टरनेटमा लाग्ने कर घटाउनुपर्छ र विस्तारै अन्य पूर्वधारको काम बढाउनुपर्छ । यो सबै लागू गराउनको लागि मेरो कार्याकालमा मात्र सम्भव छैन तर जहाँ क्यान महासंघको आवश्यकता हुन्छ त्यहाँ म सक्रिया रूपमा काम गर्छु ।

नेपालको हकमा आउटसोर्सिङको काम गर्ने धेरै छन् । यसमा कति रोजगार छन् भन्ने तंथ्याक अझैपनि अन्याेल छ । महासंघले कस्तो भुमिका खेल्छ ?

यो अनुसन्धानको लागि मेरो कार्यकालमा केही काम अवश्य गर्छु । एक वर्षमा कति पास आउट, कति रोजगारीमा छन् भन्ने कुरा मैले निकाल्न नसकेपनि कसरी निकाल्ने भन्ने विषयमा अनुसन्धान गरेर जान्छु । त्यो भयो भने भोलिको दिनमा एकिन तंथ्याक आउँछ ।

तपाईँको आगामी योजना के छन् र तपाईँले आफ्नो कार्यकालमा भविष्यमा कस्तो खालका चुनौती देख्नुभएको छ ?

मेरो त्यति धेरै ठूलो योजना छैन । क्यानले गरिरहेको कार्यहरुलाई निरन्तरता दिन्छु । क्यान महासंघ सूचना प्रविधि क्षेत्रमा काम गर्ने सदस्यहरूको एउटा छाता संगठन हो । त्यसैले मेरो कार्यकालमा यस क्षेत्रका समस्याहरू सरकारसँग लबिङ गरेर समाधानको बाटोमा लैजाने प्रयास गर्छु । अब अर्को हप्ता क्यानको विभिन्न योजनाहरू सार्वजनिक गर्ने तयारी छ । काम गर्दै जाँदा चुनौतीहरू कुनैपनि संस्थाहरुमा हुन्छन् । त्यस्ता चुनौतीहरूलाई अवसरको रूपमा हेरेको छु ।