नाडा र संस्थागत एसाेसिएसनबिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल, हेटौँडा अटोमोबाइल्स एसाेसिएसन र नाडा संस्थागत एसाेसिएसनका पदाधिकारी र सदस्यहरूको अन्तरक्रिया कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। सो कार्यक्रम हेटौँडा अटोमोबाइल्स एसाेसिएसनको २४ औं वार्षिक साधारण सभासँगै आयोजना गरिएको थियो।

कार्यक्रममा अटोमोबाइल क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूमा छलफल गरिएको थियो। भन्सार विभाग र वाणिज्य विभागको यम.आर.पी.लगायतका विषयमा उपस्थित सदस्यहरूले प्रश्न उठाएका थिए। अन्य विषयमा चर्चा भए जसमा भन्सार मूल्याङ्कनको समस्या, साफ्टा अन्तर्गतका अटोमोवाइल वस्तुहरूको स्थिति, मधेश प्रदेशमा विना प्यान नम्बरका पसलहरूको कार्यशैली र व्यवसायमा चेक वाउन्सका समस्याहरु समावेश थिए।

नाडाका अध्यक्ष करण चौधरीले प्रश्नहरूको प्रत्युत्तर दिएका थिए भने, केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एम.आर.पीका विषयमा थप जानकारी दिएका थिए। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाले प्रदेशहरूलाई कर, भन्सार र भिसिटियस सम्बन्धी तालिम कार्यक्रम र सीप विकास तालिम आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए।

कार्यक्रममा नाडाका अन्य सदस्यहरू, हेटौँडा अटोमोबाइल्स एसाेसिएसनका पदाधिकारी र जानकी अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन हेटौँडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए।

त्यसैगरी, नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता पनि सम्पन्न भएको थियो जसमा चितवन अटोमोबाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले विजय प्राप्त गरेका थिए। यस किसिमका कार्यक्रमले नाडा र नाडाका संस्थागत एशोसिएशनका बीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास नाडाले व्यक्त गरेको छ।