कृषि सहकारीलाई व्यवस्थित रूपमा अघि बढाउन थप काम गर्नुपर्ने छ: मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सहकारीलाई व्यवस्थित रूपमा अघि बढाउन थप काम गर्नुपर्ने बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं वार्षिक साधारणसभामा उनले कृषि सहकारीहरूको उद्देश्य र सञ्चालनमा सुधार गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।

मन्त्री अधिकारीले भने, “सहकारीको उद्देश्य अनुसार सञ्चालन भइरहेको छ कि छैन भन्ने कुरा हेर्नु पर्छ। सहकारी एउटै खालका छैनन्, विभिन्न उद्देश्यमार्फत सञ्चालन हुने सहकारीहरू छन्। यसलाई कसरी व्यवस्थित र राम्रो बनाउने भन्ने सोच्न आवश्यक छ।”

उनले सहकारीलाई बैंकिङ कारोबारको रूपमा नहेर्न अपिल गर्दै सहकारीको उद्देश्य र लक्ष्यप्रति थप स्पष्टता र एकजुटता देखाउनुपर्ने बताए । “हामीले सहकारीलाई राष्ट्रको निम्ति सही दिशा र उद्देश्यमा अघि बढाउनुपर्छ,” उनले थपे।

मन्त्री अधिकारीले सहकारीको कामकाजमा विभिन्न खालका टिप्पणीहरू भएका कारण भ्रम नफैलाउन आग्रह गरेका छन् । उनले भने, “सहकारी सहि छन् र राष्ट्रको निम्ति राम्रो काम गर्दै आएका छन्, त्यसैले हामीले एकजुट भएर काम गर्नुपर्छ।”

सहकारीको बेथिति सुधारका लागि स्वनियमनको आधारमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आगामी दिनमा सहकारीको सुधारका लागि सरकारको सहयोगको कुरा गर्दै, “सहकारीका खटिएका समस्याहरू समाधान गर्न हामीलाई सबैले एकजुट भएर काम गर्न आवश्यक छ,” उनले भने।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा सुधारका लागि एेन संशोधन भएको जानकारी दिँदै, केही कुरामा नमिलेकाले आगामी दिनमा सहकारी क्षेत्रको समग्र सुधारका लागि आवश्यक कदम चालिने आश्वासन दिएका छन्।