काठमाडौँ। चालु आर्थिक वर्ष २०८१\८२ को पाँच महिना (साउनदेखि मंसिर) सम्मको अवधिमा वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार यस अवधिमा विभिन्न जनावरहरूको आक्रमणबाट ८३ जनाको ज्यान गएको छ, ५९९ घाइते भएका छन् र २५६ जनाको उद्धार गरिएको छ।
हात्तीको आक्रमणबाट ६ जनाको ज्यान गुमेको र १४ जना घाइते भएका छन्, जसमा ३ जनालाई उद्धार गरिएको छ। बाघको आक्रमणले ३ जनाको ज्यान लिएको छ, २४ जना घाइते भएका छन् र ११ जनाको उद्धार गरिएको थियो। त्यस्तै गैंडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् र ४ जनालाई बचाउन सफल भएको छ।
भालुको आक्रमणले १५ जना घाइते भएका छन् र २ जनालाई उद्धार गरिएको छ। सर्पका कारण सबैभन्दा बढी ७० जनाको ज्यान गएको छ, ५३२ जना घाइते भएका छन् र १३६ जनाको उद्धार गरिएको छ।
यस अवधिमा प्रहरीले १८३५ वटा घटनाको व्यवस्थापन गरेको जनाएको छ। जनावरहरूको आक्रमण प्रायः जोखिमयुक्त क्षेत्रमा बढिरहेको भन्दै प्रहरीले स्थानीयवासीलाई सचेत रहन र सतर्कता अपनाउन आग्रह गरेको छ। यससँगै, प्रहरीले जोखिमयुक्त स्थानमा जनचेतना फैलाउने र मानवीय क्षति कम गर्न थप प्रभावकारी कार्य गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्