काठमाडाैँ । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण आगामी माघ १२ गते दशरथ रंगशालामा हुने भएको छ ।
प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेनरी एशोसिएशनले राइट टु प्रोटिन हाफ म्याराथन गर्दै आएको हो ।
आयोजकले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै म्याराथनको बारेमा जानकारी दियो । गत तीन वर्षदेखि यो हाफ म्याराथन आयोजना हुँदै आएको छ । यस संस्करणमा महिला र पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाहरूका लागि रन फर फन विधामा प्रतिष्पर्धा हुने भएको छ ।
राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार धावकले दौडिने आयोजकको अनुमान रहेको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । उक्त म्याराथन बिहान ६ः३० बजे शुरु हुने आयोजक नेपाल भेटेनरी एसाेसिएसनले जनाएको छ । सहभागिता र पुरस्कार राशिका हिसावमा यस प्रतिष्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका अध्यक्ष डा.शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्पm सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन हुन् ।
पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । सोमवार भएको पत्रकार सम्मेलनमा धाविका सन्तोषीले खेलाडीहरूको सेवासुविधा, करकट्टी बिना पुरस्कार दिने र अन्य विभिन्न पक्षका हिसाबले राइट टु प्रोटिन उत्कृष्टमध्ये एक रहेको बताइन् ।
यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् । धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् । आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो आयोजना विशेष रहेको धाविका सन्तोषीको भनाइ छ । खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।
आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । महिलामा पाँच किलोटमिटरतर्पm शीर्ष तीनले क्रमशः ३० हजार, २० हजार र १५ हजार पाउने आयोजकले जनाएको छ । चौथोले १० हजार र चौथो पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
ह्विलचियरतर्फ महिला र पुरुषमा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक कमिटीका अध्यक्ष डा. शितलकाजीले जानकारी दिए । यस प्रतियोगिताका लागि करिव पाँच सय जना स्वयं सेवकहरु परिचालन गरिने आयोजकले जनाएको छ । नेपाल एथलेटिक्स संघले म्याराथनलाई प्राविधिक सहयोग प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्