नेपालमा भूकम्पको झट्का, कुनैपनि क्षति नभएको प्रारम्भिक विवरण


काठमाडाैँ । आज विहान ६ः५० बजे नेपाल-चीन सीमा नजिक तिब्बतको हिङ्ग काङर्ची क्षेत्रमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु नेपालबाट ९० किलोमिटर टाढा रहेको थियो।

भूकम्पका झट्का नेपालका कोशी, मधेश, बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको छ। तर, प्रारम्भिक विवरणहरूमा कुनै मानवीय वा भौतिक क्षति नभएको पुष्टि गरिएको छ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, भोजपुर लगायतका जिल्लाहरूमा सामान्य झट्का महसुस गरिए पनि कुनै क्षति नभएको रिपोर्ट प्राप्त भएको केन्द्रले जनाएकाे छ । यस्तै, मधेश प्रदेशका अधिकांश क्षेत्रमा झट्का महसुस गरिए तापनि कुनै असर परेको छैन।

बागमती प्रदेशका काभ्रे र उत्तरतर्फका जिल्लाहरूमा पनि सामान्य झट्का महसुस गरिएको र कुनै मानवीय वा आर्थिक क्षति नभएको जानकारी दिइएको छ। राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सुरक्षा सुनिश्चित गर्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।