समितिबाट एक वर्षसम्म पनि एउटा विधेयक पारित गर्न नसक्नुले सांसदमाथि नै प्रश्न उठ्छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।

मंगलवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाइसक्दा पनि आठ महिनासम्म पनि विधेयक पारित नहुनु दुःखको विषय भएको बताएका हुन् ।

उनले समितिबाट विधेयक पारित हुन नसक्नुले सांसदहरूका काममाथि प्रश्न उठ्ने बताए ।उनले एउटा कानून बनाउन एक वर्षको समय लाग्ने कुराबाट देश विकास हुन नसक्ने बताए। समितिले विचाराधिन विधेयकलाई छिटो भन्दा छिटो पारित गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।

मन्त्रीले आफ्नो धारणा राख्दै गर्दा समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आपत्ति जनाए । मन्त्री भण्डारीको भनाइप्रति आपत्ति जनाउँदै पराजुलीले समितिले सरकारलाई निर्देशन दिनसक्ने भन्दै मन्त्रीले समितिमाथिको काम कारबाहीमा औंला उठाउन नपाउने बताए । समितिमा काम, कारबाही कसरी अघि बढेको छ भन्नेबारेमा जानकारी गराउने जिम्मेवारी सभापतिको भएको बताए । 

समितिको बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सरकारबाट आएका आग्रहलाई समितिले स्वीकार गर्ने बताए । उनले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उपसमितिले दिएका २० वटा सुझावहरु दिएको उल्लेख गर्दै २० वटै बुँदाको विषयमा मन्त्रालयको धारणा माग गरे । उनले लामो समयपछि पनि अहिलेसम्म विधेयक पास गर्न नसकेको अवस्थालाई समितिले पनि बुझेको उल्लेख गरे ।