खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरूले देशको ऐन, कानून मानेनन्


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिएका छन् ।

मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै उनले खेलकुदमा दर्ता भएका संघहरुले देशको ऐन, कानून नमान्ने र अदालतको आदेश नमान्ने भन्ने नहुने बताएका हुन् । जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै देशको ऐन, कानून र नियमावलीअनुसार खेलकुद संघहरु चल्नुपर्ने बताए ।

“हाम्रा संघहरु, खेलकुदमा दर्ता भएको संघहरु हाम्रो देशको ऐन नमान्ने, हाम्रो देशको कानून नमान्ने, अदालतको नियम, कानून नमान्ने । अनि त्यो संघहरु, त्यो संस्थाहरुलाई एग्रिसिप भएर जसरी पनि जित्नैपर्ने मानसिकताबाट त्यो सफलता प्राप्त गर्न सक्दैन । हाम्रो देशको ऐन, कानून छ । नियमावली छ, साथै अदालतको निर्देशन छ । फैसला छ । त्यसअनुसार गर्दिन मैले आग्रह गर्न चाहन्छु । जसरी खेलकुदमा नियम, अनुशासनले अघि बढ्छ, त्यसरी नै संघहरु पनि अनुशासन र आफ्नो कर्तव्य पालन गरेर अघि बढ्न आग्रह गर्न चाहन्छु,” उनले भने ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एशियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरे । मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ  ।