‘भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके, असारसम्म १५ सय बढी समस्यामा पर्छन्’


काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरु समस्याग्रस्त भएको बताएको छ ।

शनिवार काठमाडौँमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नदिँदा २ सय भन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरु समस्याग्रस्त हुने स्थिति रहेको बताएका छन् ।

उनले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भएपनि सरकारले नदिएको बताए । उनले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गरे । यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि विनियोजन नहुँदा  निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए ।

“यो राष्ट्रिय भेला गर्नुको औचित्य हामीले लामो समयदेखि सम्माननीय प्रधानमन्त्रीज्यु, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रीज्यु, उपप्रधानमन्त्री एवं अर्थमन्त्रीज्यु, विकासे मन्त्रालयका मन्त्रीज्यु, मन्त्रीज्युहरु, मुख्यसचिवज्यु, सचिवज्युहरु लगायत सम्पूर्णलाई निर्माण उद्योगमा भएको सकसका विषयमा जानकारी गराउँदा गराउँदै सरकारले अहिलेसम्म यो काम गर्ने मुल समयमा पनि गत वर्षकै भुक्तानीमा पनि पूर्ण रुपमा भुक्तानी गर्न असक्षम भएको छ । यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि गत वर्षको भुक्तानी हुँदै गर्दा समग्रमा निर्माण क्षेत्र अस्तव्यस्त भएको अवस्था छ,” उनले भने ।

अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निस्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताए । उनले सिमेन्ट र डन्डी लगायतका निर्माण सागम्रीहरूमा भएको कालोबजारीको कसरी बिरोध गर्ने भन्ने निस्कर्षका लागि पनि भेला बोलाइएको बताए । सात प्रदेश र ७७ जिल्लाकै निर्माण व्यवसायीहरू भेलामा उपस्थित रहेको जानकारी दिए ।