साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छः पूर्वअर्थमन्त्री महत


काठमाडाैँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सम्झौता सदस्य राष्ट्रको रुपबाट नेपाल बाहिर निस्कनुपर्ने बताएका छन् ।

आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कमा रहेका देशहरुले हस्ताक्षर गरिएको दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्टाको सम्झौता सदस्य राष्ट्रहरूमा नै बढ्दो बेवास्ता भएकाले नेपाल बाहिर निस्कन आवश्यक रहेको बताएका हुन् ।

उनले सम्झौताको मुल मान्यता विपरित अन्य राख्नले सहमति नमान्ने तर नेपालले मात्रै मान्नुपर्ने अवस्था रहेकाले बाहिर निस्कन आवश्यक रहेको बताए । उनले साफ्टाको औचित्यमाथि नै प्रश्न उठ्न थालेकाले नेपालले पालना गरेर बसि रहन नहुने धारणा राखे ।

पूर्वमन्त्री महतले नेपाल अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा हस्ताक्षर गर्न हौसिने प्रवृत्तिमा  विचार पु¥याउनुपर्ने अवस्था आएको बताए । उनले साप्टामा नेपालले न्युन भन्सार वा भन्सार रहित भनेर हस्ताक्षर गरे पनि अरु देशले त्यो सहमति पालना नगरेको बताए । उनले नेपालले मात्रै भारत लगायतमा उत्पादन भएका वस्तुहरुमा छुट दिएर नेपालले मात्रै बोझ खपिरहने अवस्थामा बस्नु नहुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भन्सारमा मालदार अड्डा मानेर जान नसक्ने गरी भन्सार ऐन बनाउन आवश्यक रहेको बताए । उनले त्यसको लागि निजी क्षेत्रले विश्वका अन्य मुलुकमा भएका अभ्यासहरुलाई पनि हेरेर सुझाव दिन आग्रह गरे ।