ट्रक व्यवसायी महासंघद्वारा भारवहन नियन्त्रणमा सरकारको उदासिनताप्रति आपत्ति


काठमाडाैँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मालवाहक सवारी साधनको भारवहन नियमनमा सरकारको उदासिनता रहेको भन्दै आपत्ति जनाएको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ लाई प्रभावकारी ढंगले लागू गर्न पटक–पटक आग्रह गरे पनि सरकार र सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको जनाएकाे छ ।

महासंघका अनुसार, राष्ट्रिय राजमार्गहरूमा स्वदेशी र विदेशी मालवाहक सवारी साधनले अधिक भारवहन गरी सञ्चालन हुँदा सडक र पुल संरचनामा क्षति पुगेको छ। यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, र प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइएको भए पनि अपेक्षित सुधार नभएको महासंघले जनाएको छ।

विगतमा यातायात व्यवस्था विभागको पहलमा तौलपुल सञ्चालन गरी मालवाहक सवारी साधनको भारवहन क्षमताको निगरानी गर्ने निर्णय भएको थियो। तर, यो निर्णय प्रभावकारी रूपमा लागू नभएकाले सडक संरचना जोखिममा परेको महासंघको दाबी छ। हालै गण्डकी प्रदेशमा भारतीय मालवाहक सवारी साधनले अत्यधिक भारवहन गरी पुल भाँचिन पुगेको घटनाले पनि सरकारको उदासिनता उजागर गरेको महासंघको भनाइ छ।

महासंघले गृहमन्त्रीस्तरीय निर्णयहरूको पालना गर्न माग गर्दै सडक संरचना जोगाउन र दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ। साथै, अधिक भारवहनमा रोक लगाउन र तौलपुलमार्फत नियमित अनुगमन गरी तोकिएको भारमात्र वहन गर्न दिने व्यवस्थालाई कडाइका साथ लागू गर्न महासंघले चेतावनी दिएको छ।